नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन् । उनले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गर्दै सरकार र व्यवसायीबीच विश्वासको वातावरण पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
इक्यानले आइतबार आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेसम्म मुलुकमा औद्योगीकरण र आर्थिक विकासले गति लिन नसक्ने बताए । उनका अनुसार व्यवसायीले राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप तथा आर्थिक उतारचढावका बीच पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका छन् । तर, पछिल्ला घटनाक्रम र सरकारी अभिव्यक्तिले निजी क्षेत्रसँगै युवामा समेत थप त्रास सिर्जना गरेको उनको भनाइ थियो । ‘समस्या धेरै छन् तर सबैभन्दा पहिला निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ । निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्छ,’ उनले भने, ‘अहिले व्यवसायीको कन्फिडेन्स इतिहासकै न्यून अवस्थामा छ । त्यसैले सबैभन्दा पहिले ट्रस्ट बिल्डअप गर्नुपर्छ ।’
श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्न खोज्नु आफैंमा गलत नभए पनि कुनै एउटा उद्योगलाई केन्द्रमा राखेर समग्र औद्योगिक नीति निर्माण गर्न नहुने बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका क्रममा निजी क्षेत्रले उद्योग बन्द गराउन सक्ने आशंका व्यक्त गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो सोचले औद्योगीकरणको वातावरण बन्न नसक्ने टिप्पणी गरे । ‘हेटौंडा कपडा उद्योग चल्यो भने व्यापारीले आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने मानसिकता किन राख्ने ? डर लाग्छ भने झाँक्री लगाएर फुकफाक गरे हुन्छ, नभए खुर्सानी र कागती झुण्ड्याए हुन्छ,’ उनले व्यंग्य गर्दै भने, ‘तर यस्तो सोचबाट देशमा औद्योगीकरण हुँदैन ।’
उनले नेतृत्वमा रहेका व्यक्तिहरूले निजी क्षेत्रप्रति अविश्वास पैदा गर्ने अभिव्यक्ति दिन नहुने बताए । सरकार आफैंले केही उद्योग सञ्चालन गर्न चाहे त्यसलाई सकारात्मक रूपमा लिन सकिने उल्लेख गर्दै उनले सरकारी उद्योगसँगै निजी क्षेत्रलाई सक्षम बनाउने स्पष्ट नीति आवश्यक रहेको बताए ।
श्रेष्ठले नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सक्ने गरी समग्र औद्योगिक ‘इकोसिस्टम’ निर्माण गर्नुपर्नेमा जोड दिए । कच्चा पदार्थको उपलब्धता, उत्पादन, बजार, वित्तीय पहुँच, कर नीति र उपभोक्तासम्मको आपूर्ति शृंखलालाई एकीकृत नगरेसम्म एउटा–दुईवटा उद्योग सञ्चालन गरेर मात्रै अर्थतन्त्र बलियो बनाउन नसकिने उनको भनाइ थियो ।
उनले सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध पुनःस्थापित गर्दै दीर्घकालीन र व्यवसायमैत्री नीतिगत वातावरण बनाउनुपर्ने बताए । निजी क्षेत्र कमजोर हुँदा लगानी, उत्पादन, रोजगारी र राजस्वमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।
श्रेष्ठले व्यवसायीले दैनिक रूपमा नाफा–घाटा, बजारको जोखिम र विभिन्न चुनौती सामना गर्दै पनि आशावादी भएर व्यवसाय अघि बढाइरहेको बताए । यस्तो अवस्थामा व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा सार्वजनिक रूपमा हुर्मत लिने र मनोबल गिराउने प्रवृत्तिले लगानीको वातावरण थप बिगार्ने उनले चेतावनी दिए ।
उनका अनुसार निजी क्षेत्रलाई शंका होइन, विश्वास आवश्यक छ । सरकार र व्यवसायीबीच भरोसाको वातावरण निर्माण गर्न सके मात्रै उद्योग विस्तार, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रले गति लिन सक्नेछ ।

