Banijya News

साउन महिनामा वाणिज्य बैंकको निक्षेप २१ अर्बबढीले घट्यो, कुनको कति ?

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलनमा कमी आएको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप २१ अर्ब ६३ करोड रुपैयाँले घटेको हो ।

बैंकिङ प्रणालीमा निक्षेप घट्दा बैंकहरूको स्रोत परिचालनमा समेत दबाब देखिएको छ । साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तमा भने यी बैंकहरूको कुल निक्षेप ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ थियो । यसअनुसार एक महिनामा कुल निक्षेप ०.२९ प्रतिशतले घटेको हो ।

साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको निक्षेप घटेको छ भने १० बैंकको बढेको छ । निक्षेप संकलनका आधारमा सबैभन्दा अगाडि रहेको ग्लोबल आइएमई बैंकको निक्षेप १३ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । असार मसान्तमा ७० खर्ब ४४ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप साउनमा ६८ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँमा झरेको छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ३ अर्ब ४१ करोड रुपैयाँले बढेर ६८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको निक्षेप ६८ खर्ब ५० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

चालु आवको पहिलो महिनामा नबिल बैंकले पनि निक्षेप बढाएको छ । बैंकको निक्षेप ४ अर्ब ७२ करोड रुपैयाँले बढेर ६० खर्ब १८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा नबिलको निक्षेप ६० खर्ब ६० अर्ब रुपैयाँ थियो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप १ अर्ब ९७ करोड रुपैयाँले बढेर ५२ खर्ब ९१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको निक्षेप ५ अर्ब २ करोड रुपैयाँले बढेर ४३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

उता, कुमारी बैंकको निक्षेप १० अर्ब ८४ करोड रुपैयाँले बढेर ४२ खर्ब ३५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकको निक्षेप पनि १ अर्ब ७० करोड रुपैयाँले बढेर ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल एसबिआई बैंकको निक्षेप भने ७ अर्ब ८० करोड रुपैयाँले बढेर २२ खर्ब ५ करोड ५० करोड रुपैयाँ पुगेको छ । सिटिजन्स बैंकको निक्षेप १ अर्ब ५५ करोड रुपैयाँले बढेको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप २ अर्ब ३५ करोड रुपैयाँले बढेर १५ खर्ब २३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

तर, चालु आवको पहिलो महिनामा हिमालयन बैंकको निक्षेप ३ अर्ब ७४ करोड रुपैयाँले घटेर ३५ खर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ । एनआईसी एशिया बैंकको निक्षेपमा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ । बैंकको निक्षेप १६ अर्ब २९ करोड रुपैयाँले घटेर ३२ खर्ब ९४ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

कृषि विकास बैंकको निक्षेप ५ अर्ब ७८ करोड रुपैयाँले घटेर ३४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । प्रभु बैंकको निक्षेप ७ अर्ब ४८ करोड रुपैयाँले घटेर ३४ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, साउन महिनामा सिद्धार्थ बैंकको निक्षेप पनि ३ अर्ब ३० करोड रुपैयाँले घटेको छ । सिद्धार्थ बैंकको निक्षेप ३२ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ भने एभरेष्ट बैंकको निक्षेप १ अर्ब ७८ करोड रुपैयाँले घटेर ३१ खर्ब ८३ अर्ब ७० करोड रुपैयाँमा झरेको छ ।

एनएमबी बैंकको निक्षेप ३ अर्ब ४७ करोड र प्राइम बैंकको ८ अर्ब ४१ करोड रुपैयाँले घटेको छ । माछापुच्छ्रे बैंकको निक्षेपमा ५४ करोड रुपैयाँको कमी आएको छ । उता, सानिमा बैंकको निक्षेप ७ करोड रुपैयाँले घटेर २४ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँमा झरेको छ ।

समग्रमा केही बैंकमा निक्षेप बढे पनि ठूला बैंकमा आएको उल्लेख्य गिरावटका कारण साउनमा वाणिज्य बैंकहरूको कुल निक्षेप घटेको देखिएको छ ।

1

Scroll to Top