Banijya News

दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

1
1.0K Shares

गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति (प्रिएप्रुभल) मागेका छन् । बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूले लाभांश वितरण प्रक्रिया अघि बढाएका हुन् ।

हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव गर्नुअघि गत आर्थिक वर्षको वित्तीय विवरणको प्रिएप्रुभल माग्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि लाभांश वितरणका लागि पूर्वस्वीकृति मागेको छ ।

बैंकहरूले लाभांश घोषणा गर्नुअघि राष्ट्र बैंकबाट अग्रिम स्वीकृति लिनुपर्ने व्यवस्था छ । पूर्वस्वीकृति छिट्टै प्राप्त भएमा सञ्चालक समितिबाट लाभांश प्रस्ताव गरी घोषणा गर्ने तयारीमा बैंकहरू छन् । भदौ मसान्तभित्र अन्तिम स्वीकृति प्राप्त भए दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्ने लक्ष्य बैंकहरूको छ ।

बैंकरहरूका अनुसार, यसपटक बैंकहरूले नगद लाभांशलाई प्राथमिकता दिने सम्भावना छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाउनुपर्ने हुन्छ । त्यसअघि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्ने भएकाले बैंकहरू अहिले नियामकीय स्वीकृतिको पर्खाइमा छन् ।

लाभांश प्रस्ताव गरेपछि साधारणसभा आह्वान गर्नुअघि पनि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्छ । स्वीकृति पाएपछि साधारणसभाको मितिभन्दा कम्तीमा २१ दिनअघि सभा आह्‌वानको सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार लाभांश प्रस्तावका लागि राष्ट्र बैंक पुगेका बैंकमध्ये एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी ३८.३२ प्रतिशत देखिएको छ । नबिल बैंकको १९.१ प्रतिशत, सानिमा बैंकको २०.८५ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत लाभांश क्षमता देखिएको छ ।

राष्ट्र बैंकका अधिकारीहरूले सकेसम्म दशैंअघि नै बैंकहरूलाई लाभांश वितरण गर्ने वातावरण बनाउने गरी स्वीकृति प्रक्रियामा काम भइरहेको बताएका छन् । तर प्रिएप्रुभलमै ढिलाइ भएमा लाभांश घोषणा, साधारणसभा र वितरण प्रक्रिया लम्बिन सक्ने बैंकरहरूको भनाइ छ ।

यसअघि विकास बैंकतर्फ कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले राष्ट्र बैंकबाट प्रिएप्रुभल पाएर लाभांश घोषणा गरिसकेका छन् । उनीहरू अहिले लाभांश वितरणका लागि साधारणसभाको तयारीमा छन् ।

1

Scroll to Top