Banijya News

मधेशमा बन्द भए एक हजार नौ सयबढी उद्योग

1
1.0K Shares

मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य क्षेत्रका १ हजार ९३८ उद्योग व्यवसाय बन्द भएका छन् । आर्थिक मन्दीलगायतका कारण ती उद्योग व्यवसाय बन्द भएको बताइएको छ ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार सो अवधिमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्मको लगत कट्टा गरिएको हो ।

विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी, पुँजी अभाव तथा स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले उद्योग व्यवसायको लगत कट्टा हुने संख्या बढेको जनाइएको छ ।

धेरै उद्योग व्यवसाय बन्द भए पनि नयाँ उद्योग खुल्ने क्रम जारी छ । गत आर्थिक वर्षमा प्रदेशभर ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

सबैभन्दा बढी पर्सामा १ हजार १०१ वटा उद्योग दर्ता भएका छन् । धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

सोही अवधिमा प्रदेशमा ७ हजार ५४० वटा उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ भने ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन् । वाणिज्यतर्फ ११ हजार १४४ फर्म नवीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

उद्योग तथा वाणिज्यसम्बन्धी नयाँ दर्ता, नवीकरणलगायत शीर्षकबाट प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ ।

1

Scroll to Top