अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग आज मंगलबार छलफल गर्दैछन् । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन संवाद शृङ्खलाअन्तर्गत आयोजना गर्न लागेको छलफल बिहान ११ बजेदेखि मन्त्रालयको सभाहलमा सुरु हुनेछ ।
छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ । कार्यक्रममा आईटी क्षेत्रमा सक्रिय युवा उद्यमीले व्यवसाय सञ्चालन तथा विस्तारका क्रममा भोगिरहेका नीतिगत र व्यावहारिक समस्याबारे अर्थमन्त्रीसमक्ष धारणा राख्नेछन् ।
त्यस्तै, स्टार्टअपका योजना, सम्भावना, लगानीको अवस्था तथा व्यवसाय विस्तारका क्रममा देखिएका अवरोधबारे समेत छलफल हुनेछ । सरकारले स्टार्टअप तथा आईटी क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधार, सहजीकरण र सहयोगका विषयमा उद्यमीबाट सुझाव लिनेछ ।
अर्थमन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनबारे सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उद्यमीबाट मौखिक तथा लिखित रूपमा प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम कार्यान्वयनमा समेट्ने उद्देश्यले छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आईटी क्षेत्रलाई रोजगारी, नवप्रवर्तन र आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने विषयमा समेत कार्यक्रममा विशेष जोड दिइने अपेक्षा गरिएको छ ।


