कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा काठमाडौंको बालुवाटार रोड, भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने भएको छ । सभाले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

