Banijya News

अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद शेयर निष्कासनको बाटो खुल्यो

1
1.0K Shares

विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । संखुवासभामा सञ्चालित ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासनको अनुमति मागेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले यसअघि चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ५७ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव आयोगसमक्ष पेश गरेको थियो । तर, कम्पनीको लगानी योजना, शेयर स्वामित्वको अवस्था तथा पूँजीको आवश्यकतासहितका विषय अध्ययन गरेपछि आयोगले ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि मात्र पूर्वस्वीकृति दिएको हो ।

विद्युत् सम्बन्धी कम्पनीको शेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम आयोगको २०८३ भदौ २ गते बसेको ३१६औँ बैठकले उक्त निर्णय गरेको हो । आयोगको स्वीकृतिसँगै कम्पनीले तोकिएका शर्त तथा प्रचलित कानुनी व्यवस्था पूरा गरी हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउन सक्नेछ ।

स्वीकृत योजनाअनुसार हकप्रद शेयरबाट संकलन हुने रकममध्ये ४६ करोड रुपैयाँ सिसुवाखोला जलविद्युत् आयोजनामा लगानी गरिनेछ । उक्त रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिको शेयरमा लगानी गर्ने योजना कम्पनीले आयोगसमक्ष पेश गरेको थियो ।

त्यस्तै, हकप्रद शेयरबाट प्राप्त हुने बाँकी ६ करोड ५० लाख रुपैयाँ अपर हेवाखोला साना जलविद्युत् आयोजनाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिनेछ । यसबाट कम्पनीको वित्तीय दायित्व घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोगका अनुसार अपर हेवाखोला हाइड्रोपावरको मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिमा यसअघि नै ५ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । उक्त कम्पनीको चुक्ता पूँजीमध्ये करिब ६० दशमलव ६ प्रतिशत शेयर अपर हेवाखोला हाइड्रोपावरको स्वामित्वमा रहेको छ ।

कम्पनीले हकप्रद शेयरबाट जुटेको पूँजीलाई नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तार र विद्यमान ऋण घटाउन प्रयोग गर्ने योजना प्रस्तुत गरेपछि आयोगले आवश्यक अध्ययन गरी पूर्वस्वीकृति दिएको हो । आयोगको निर्णयसँगै कम्पनीलाई थप पूँजी परिचालन गर्दै सिसुवाखोला आयोजनामा लगानी बढाउन तथा अपर हेवाखोला आयोजनाको बैंक ऋण घटाउन सहज हुने भएको छ ।

1

Scroll to Top