रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले बस्तीका साथै आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुर्याएको छ । बाढीले टिमुरे बस्ती नै बगाएपछि त्यहाँ रहेका बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका हुन् ।
टिमुरेमा माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायतका शाखा कार्यालय सञ्चालनमा थिए । बाढीले सबै शाखामा क्षति पुगेको बताइएको छ ।
बाढीपछि सञ्चार सम्पर्क अवरुद्ध भएकाले ती शाखामा कार्यरत कर्मचारीसँग समेत सम्पर्क हुन सकेको छैन । कर्मचारीको अवस्था तथा बैंकका कार्यालय र सम्पत्तिमा भएको क्षतिको यकिन विवरणसमेत संकलन गर्न कठिनाइ भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
घटनापछि बैंकर्स संघले बुधबार बिहान आकस्मिक बैठक बोलाएको थियो । बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको उद्धार तथा खोजीका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। उनले अहिले कुनै पनि कर्मचारी सम्पर्कमा नरहेको र टेलिफोन सेवा अवरुद्ध भएकाले क्षतिको वास्तविक विवरण प्राप्त गर्न नसकिएको बताए ।
बाढीका कारण बैंकिङ सेवा प्रभावित भएपछि स्थानीय सेवाग्राहीसमेत समस्यामा परेका छन् ।


