मधेस प्रदेशबाट गत आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा प्रदेशका १४४ जना युवाले ज्यान गुमाएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले वैदेशिक रोजगारीसम्बन्धी तथ्यांक सार्वजनिक गरेका हुन् ।
तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै धनुषाका ३८ हजार ५५३ जना छन् । सिरहाबाट ३० हजार २११, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३ र सप्तरीबाट २० हजार ५५९ जना विदेशिएका छन्। यस्तै, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट ७ हजार ९७७ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।
महिलातर्फ भने सर्लाहीबाट सबैभन्दा धेरै १ हजार ३८९ जना वैदेशिक रोजगारीमा गएका छन् । बाराबाट १ हजार ८८, रौतहटबाट ५२५, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, पर्साबाट ३३८, सिरहाबाट ३०४ र सप्तरीबाट २६९ महिला विदेशिएका छन् ।
सामी कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट उक्त अवधिमा ६३ हजार १४० जनाले सेवा तथा परामर्श लिएका छन् । तीमध्ये ५७ हजार २२५ पुरुष, ५ हजार ९१४ महिला र एक जना अन्य लैंगिक समूहका छन् ।
श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित ६७५ समस्या समाधान गरिएको छ । साथै १५९ पीडितलाई पीडकबाट २२ करोड १ लाख ७८ हजार ४०३ रुपैयाँ फिर्ता गराइएको छ ।
श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने बताइन् । सही सूचना र परामर्शले ठगी तथा वैदेशिक रोजगारीका क्रममा हुने अन्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

