काठमाडौं महानगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका युवा इन्जिनियर तथा आर्किटेक्टलाई लक्षित गर्दै ‘करियर क्याम्प २०८३’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले सूचना जारी गर्दै २२ जना प्रशिक्षार्थी जनशक्ति माग गरेको हो ।
कार्यक्रमअन्तर्गत सिभिल इन्जिनियरिङतर्फ ११ जना र आर्किटेक्चरतर्फ ११ जना प्रशिक्षार्थी छनोट गरिनेछ । छनोट भएका उम्मेदवारले चार महिनासम्म पूर्णकालीन प्रशिक्षार्थीका रूपमा काम गर्नुपर्नेछ । महानगरले उनीहरूलाई प्रोत्साहनस्वरूप मासिक २५ हजार रुपैयाँ सेवा सुविधा उपलब्ध गराउने जनाएको छ ।
युवा जनशक्तिलाई व्यावहारिक सीप, दक्षता र व्यावसायिक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ। प्रशिक्षार्थीले महानगरका विभिन्न आयोजनाको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ तथा डिजाइन बनाउने, लागत अनुमान तयार गर्ने र निर्माणाधीन आयोजनाको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने कार्यमा प्रत्यक्ष सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक न्यूनतम स्नातक तह उत्तीर्ण उम्मेदवारले सूचना प्रकाशित भएको भदौ १० गतेदेखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन लिंक वा विज्ञापनमा दिइएको क्यूआर कोडमार्फत भर्न सकिनेछ ।

