नेपाल बीमा प्राधिकरणले चीनबाट आएको भीषण बाढीबाट प्रभावित रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन बीमा कम्पनीहरूलाई आह्वान गरेको छ ।
प्राधिकरणले तत्काल औपचारिक निर्देशन जारी गर्नुभन्दा मौखिक रूपमा नै बीमकहरूलाई उद्धार कार्यमा सहभागी हुन आग्रह गरिरहेको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अहिले बीमा कम्पनीहरूलाई बोलाएर औपचारिक छलफल गर्नेभन्दा प्रभावित क्षेत्रमा उद्धारमा सहयोग गर्ने समय भएको बताए ।
‘हामीले अहिले निर्जीवन बीमा कम्पनीहरूलाई बोलाएर भन्ने बेला भएको छैनौँ । अहिले उद्धार कार्यमा लाग्ने बेला हो,’ सुवेदीले भने, ‘अहिले मौखिक रूपमै उद्धार कार्यमा लाग्न भनिरहेका छौँ ।’
बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको प्रारम्भिक विवरणसमेत संकलन गर्न थालिएको प्राधिकरणले जनाएको छ । उद्धार तथा राहतको अवस्था सामान्य भएपछि बीमकहरूलाई प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गर्न निर्देशन दिइने सुवेदीले बताए ।
उनका अनुसार संकलित क्षतिको विवरण प्राधिकरणमा पठाउन तथा बीमा दाबी परेका घटनामा आवश्यक प्रक्रिया पूरा गरी दाबी भुक्तानीसमेत शीघ्र उपलब्ध गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिइनेछ ।
बाढीबाट रसुवालगायतका जिल्लामा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्राधिकरणले बीमा क्षेत्रबाट तत्काल सहयोग र समन्वय आवश्यक रहेको जनाएको हो ।

