रसुवामा आएको भीषण बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी कुल १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनाको कुल जडित क्षमता ७४८ मेगावाट पुगेको छ ।
प्राधिकरणका अनुसार, प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन्, जसको संयुक्त क्षमता ३५४ मेगावाट छ । त्यस्तै ५ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन्, जसको कुल क्षमता ३९४ मेगावाट रहेको छ। बाढीका कारण बाँध, विद्युत्गृह, पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
रसुवामा सञ्चालनमा रहेका प्रमुख प्रभावित आयोजनामध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ खोला, ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए, ७८ मेगावाटको सान्जेन खोला तथा रसुवा–भोटेकोशी आयोजना रहेका छन् । यी आयोजनामा बाढीले विभिन्न संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
बाढीको असर रसुवामा मात्रै सीमित नभई नुवाकोटका जलविद्युत् आयोजनामा पनि परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका त्रिशूली (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट), माथिल्लो त्रिशूली–३ए (६० मेगावाट) र माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट) लगायत आयोजनाहरू प्रभावित भएका छन्। साथै मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) र २५ मेगावाट क्षमताको सोलार आयोजना पनि बाढीको प्रभावमा परेका छन् ।
निर्माणाधीन आयोजनामध्ये नुवाकोटका माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट) र मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) मा पनि क्षति पुगेको छ । यी दुई आयोजनाको संयुक्त क्षमता ५२.६ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले वास्तविक क्षतिको आकार अझै खुल्न बाँकी रहेको जनाएको छ । स्थलगत अध्ययनपछि बाँध, विद्युत्गृह, प्रसारण संरचना, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरिने प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना र क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।


