रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीका कारण प्रभावित क्षेत्रमा रहेका हालसम्म ३८४ जना पदयात्री तथा पर्यटकहरू सम्पर्कविहीन वा बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।
यस घटनापछि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र सरोकारवाला निकायहरूले विभिन्न १० वटा ट्राभल एजेन्सीहरूसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको यकिन अवस्था र सुरक्षा स्थितिको जानकारी लिने र प्रमाणीकरण गर्ने कार्य तीव्र पारेका छन् ।
पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त एजेन्सीगत विवरणअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्राभल एजेन्सीहरूसँगको समन्वयमा उक्त विवरणलाई प्रमाणीकरण तथा क्रस–चेक गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डले सार्वजनिक गरेको एजेन्सीगत विवरण अनुसार ट्रेकर्स सोसाइटीका ९२ जना (७७ विदेशी र १५ नेपाली), सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना (५९ भारतीय र १२ नेपाली), र लीफ होलिडेका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन् ।
हिमालयन ग्लेशियरका ५२ जना (३७ गैर–आवासीय नेपाली र १५ नेपाली), कैलाश जर्नीका ३१ जना (२६ विदेशी र ५ नेपाली), र फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना (२० विदेशी जसमा ३ अमेरिकी र १७ मलेसियाली छन्, र ७ नेपाली) को अवस्था अज्ञात छ ।
अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी जसमा १२ बेलायती र ४ दक्षिण अफ्रिकी छन्, र ४ नेपाली), काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना (२ विदेशी जसमा १ अष्ट्रेलियाली र १ नेदरल्याण्डका छन्, र १५ नेपाली), ऋचा टुर्स एन्ड ट्राभल्सका १२ जना (८ विदेशी र ४ नेपाली) तथा एक्सप्लोर भ्याकेसनका ७ जना नेपाली पदयात्रीहरू पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।
पर्यटन बोर्डले यी तथ्यांकहरूलाई गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँगको समन्वयमा थप स्पष्ट पार्ने र खोजतलास गर्ने काम गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका सबै पर्यटकहरूलाई शान्त रहन, आधिकारिक सूचनाहरूको प्रतीक्षा गर्न र सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न बोर्डले आग्रह गरेको छ ।
आपत्कालीन सहयोगका लागि सरकारले निःशुल्क नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ उपलब्ध गराएको छ ।
बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार र सूचना संकलनमा चुनौती थपिए पनि प्रभावितहरूका बारेमा कुनै पनि जानकारी भएमा तुरुन्त नजिकैको सुरक्षा निकाय वा सम्बन्धित एजेन्सीमा खबर गर्न अनुरोध गरिएको छ ।

