रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले दुःख व्यक्त गरेको छ । संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना पनि संघले गरेको छ ।
बाढीका कारण नागरिक तथा व्यवसायीका घर तथा भवन, सवारीसाधन, उद्योग–व्यवसायलगायत सम्पत्तिमा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । विपद्को यस कठिन अवस्थामा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको संघले स्पष्ट पारेको छ ।
संघले बीमा गरिएका घर, भवन, सवारीसाधन, व्यवसाय वा अन्य सम्पत्तिमा क्षति पुगेका बीमितलाई यथाशीघ्र सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण र सहयोग उपलब्ध गराउन सम्बन्धित बीमा कम्पनीलाई आग्रह गरिएको छ । क्षतिग्रस्त सम्पत्तिको शीघ्र मूल्यांकन गरी दाबी फछ्र्योट प्रक्रिया प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने संघले जनाएको छ । संघले विपद्को यस दुःखद घडीमा प्रभावित नागरिक तथा व्यवसायीको साथमा रहने प्रतिबद्धता दोहोर्याएको छ ।

