विपद्पछिको राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव सर्वदलीय बैठकमा प्रस्तुत भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा जारी सर्वदलीय बैठकमा यस्तो प्रस्ताव गरेका हुन् ।
लामिछानेले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका कामलाई समन्वयात्मक र प्रभावकारी बनाउन सर्वदलीय, संसदीय वा सर्वपक्षीयमध्ये उपयुक्त संरचना गठन गर्नुपर्ने बताएका छन् । उनका अनुसार यस्तो समितिले विपद्को समयमा सरकारले आवश्यक निर्णय लिन सहज बनाउनेछ ।
‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ लामिछानेले बैठकमा भने ।
सरकारले सञ्चालन गरेको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणालीका रूपमा अघि बढाउँदै सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । विपद्को अवस्थामा दलगत पहिचानभन्दा माथि उठेर सबै राजनीतिक दल राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा सहभागी हुनुपर्ने उनको भनाइ छ ।
लामिछानेले सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोगका लागि पनि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । विपद्को समयमा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण, उद्धार तथा राहतसम्बन्धी जानकारी प्रवाह र जनचेतना अभिवृद्धिलाई व्यवस्थित बनाउन दलहरू एक ठाउँमा उभिनुपर्ने उनको धारणा छ ।
बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र जसपा नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन् ।
त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी तथा प्रवक्ता जगदिश खरेललगायत पनि बैठकमा उपस्थित छन् ।
बैठकको सुरुआत गर्दै लामिछानेले विपद्पछिको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि विपद्पछिको अवस्थामा सबै पक्ष एकसाथ अगाडि बढ्नुपर्ने बताएका छन् । आफूहरू यसका लागि तयार रहेको उल्लेख गर्दै उनले खोज तथा उद्धारसँगै अन्य मानवीय सहयोगका लागि पार्टीका नेता तथा कार्यकर्ता परिचालन भइसकेको जानकारी बैठकमा दिएका छन् ।
सर्वदलीय बैठकमार्फत विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनामा राजनीतिक दलहरूबीच साझा संयन्त्र तथा सहकार्यको वातावरण निर्माण गर्ने प्रयास भइरहेको छ ।

