रसुवा बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका विभिन्न शाखा तथा विस्तार काउन्टरमा कार्यरत सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बाढीपछि स्याफ्रुबेशी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङजेन तामाङ र भीमबहादुर खड्का, टिमुरे शाखामा कार्यरत डोल्मा लामा तथा मैलुङ विस्तार काउन्टरमा कार्यरत मुकेश खड्का हालसम्म सम्पर्कमा आउन नसकेको बैंकले जनाएको छ ।
बाढीका कारण ती कर्मचारीहरूको अवस्थाबारे हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेपछि बैंकले उहाँहरूलाई देख्ने, भेट्ने वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्ति तथा सर्वसाधारणलाई तत्काल बैंकमा खबर गरिदिन अनुरोध गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।
बैंकले कुनै पनि माध्यमबाट उहाँहरूका सम्बन्धमा जानकारी प्राप्त भएमा ढिलाइ नगरी बैंकमा जानकारी गराइदिन हार्दिक आग्रह गरेको छ । बैंकले उपलब्ध गराएको सम्पर्क नम्बर ५८५७०२८४५४ र ५८५१०३३०५३ मा सम्पर्क गरी जानकारी गराउन सकिनेछ ।
यसैगरी, रसुवाको टिमुरे आसपासमा आएको विशाल बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन् ।
टिमुरे शाखामा कार्यरत धर्मराज रिमाल, नबिन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म सम्पर्कमा नआएको बैंकले जनाएको छ ।
बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन अनुरोध गरेको छ । जानकारी प्राप्त भएमा एनएमबि बैंक लिमिटेडका ९८४९३८०८१८, ९८१८५००२१६ वा ०१–५९७०१५० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।


