Banijya News

अपि पावरद्वारा बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि ३५ लाख सहयोग

1
1.0K Shares

भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावर कम्पनी लिमिटेडले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत उक्त रकम तत्काल सहयोग उपलब्ध गराएको हो । बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अपि पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्काले सहयोगले विपद्मा परेका नागरिकको तत्काल खोज तथा उद्धार कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले खोज तथा उद्धारपछि प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको बताएकी छन् ।

कम्पनीले भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । शोकसन्तप्त परिवारजनप्रति कम्पनीले गहिरो समवेदना पनि व्यक्त गरेको छ ।

अपि पावरले बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका कर्मचारीसहित बेपत्ता भएका सम्पूर्ण नागरिकको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई जोडदार आग्रह गरेको छ । विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन उच्च सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्न कम्पनीले सबैमा अपिल गरेको छ ।

अपि पावरले हाल ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना तथा ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत् उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना एक दर्जनभन्दा बढी सहायक कम्पनीमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा समेत लगानी तथा व्यवसाय सञ्चालन गरिरहेको छ ।

1

Scroll to Top