Banijya News

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से आज विहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक बिहीबार १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ ।

१३ उपसमूहमध्ये आज आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

विहीबार सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर ११औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, घोराही सिमेन्टको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top