नेपाल बैंकर्स संघ (सिबिफिन)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सिबिफिनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारका लागि पहल भइरहेको जनाएको छ । उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण निकाय र व्यक्तिप्रति पनि संघले सम्मान व्यक्त गरेको छ ।
बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठानलगायतमा ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ । केरुङ नाकाबाट भित्रिएका मालवस्तु तथा सवारीसाधनसमेत प्रभावित भएको संघको भनाइ छ ।
प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनले जनाएको छ ।
संघका अनुसार विपद्को समयमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता हो। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइरहेका छन् ।
वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गरिने सिबिफिनले जनाएको छ । व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि संघले जनाएको छ ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग सहकार्य गर्न बैंक तथा वित्तीय क्षेत्र तयार रहेको जनाएको छ ।
त्यस्तै, प्रभावित क्षेत्रका लागि आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने सिबिफिनले जनाएको छ । प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई शीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारका प्रयासमा हातेमालो गर्दै एकताबद्ध रूपमा परिचालित हुन संघले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई अपिल गरेको छ ।

