Banijya News

लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङका आधारमा समेत कर्जा विश्लेषण गरी प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो ।

संशोधित व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङसमेतका आधारमा कर्जा विश्लेषण गरी कर्जा प्रवाह गर्न सक्नेछन् । यसअघि एकीकृत निर्देशनमा ग्राहकको यस्तो मनोवैज्ञानिक तथा व्यवहारगत पक्षलाई कर्जा विश्लेषणको आधारका रूपमा समेट्ने स्पष्ट व्यवस्था थिएन ।

राष्ट्र बैंकले निर्देशन नम्बर ३/०८२ को बुँदा नम्बर २ मा नयाँ उपबुँदा ‘(ञ)’ थप गर्दै साइकोमेट्रिक क्रेडिट स्कोरिङलाई कर्जा विश्लेषणको आधारका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी भदौ ११ गते उक्त निर्देशन जारी गरिएको हो ।

साइकोमेट्रिक क्रेडिट स्कोरिङमा ऋणीको परम्परागत वित्तीय विवरण, आम्दानी वा धितोमा मात्रै निर्भर नभई उसको व्यवहार, निर्णय क्षमता, जोखिमप्रतिको दृष्टिकोण, वित्तीय अनुशासन तथा कर्जा भुक्तानीसँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक र व्यवहारगत सूचकको विश्लेषण गरिन्छ ।

नयाँ व्यवस्थाले विशेषगरी पर्याप्त वित्तीय विवरण वा धितो उपलब्ध नभएका ग्राहकको कर्जा क्षमता मूल्यांकन गर्न लघुवित्त संस्थालाई थप आधार उपलब्ध गराउन सक्ने देखिन्छ । यसबाट प्रविधिमा आधारित कर्जा मूल्यांकनलाई समेत प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, राष्ट्र बैंकले संशोधित निर्देशनमा साइकोमेट्रिक स्कोरिङका लागि प्रयोग हुने विस्तृत मूल्यांकन विधि, सूचक वा मापदण्ड भने तोकेको छैन । त्यसैले, लघुवित्त संस्थाले यसको प्रयोग गर्दा आगामी नियामकीय व्यवस्था तथा जोखिम व्यवस्थापनसम्बन्धी मापदण्डलाई ध्यान दिनुपर्ने देखिन्छ । नयाँ व्यवस्था ‘घ’ वर्गका इजाजतपत्रप्राप्त सबै लघुवित्त वित्तीय संस्थामा लागू हुनेछ ।

1

Scroll to Top