हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंक सञ्चालक समितिको भदौ १४ गते आइतबार बसेको ५०६औँ बैठकले अध्यक्ष पदमा संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
सोही बैठकले तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामासमेत स्वीकृत गरेको थियो । उक्त रिक्त पदमा अर्याललाई नियुक्त गरिएको हो । बैंकका अनुसार, श्रेष्ठको राजीनामा २०८३ भदौ १४ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।
त्यसपछि रिक्त भएको अध्यक्ष पदमा सोही मितिदेखि लागू हुने गरी अर्याललाई अध्यक्षमा निर्वाचित गरिएको बैंकले जनाएको छ । अर्याल बैंकको संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका थिए । सञ्चालक समितिको निर्णयसँगै उनले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।


