भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।
गत भदौ १० गते बुधबार बिहान आएको उक्त बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा कार्यरत ९३ जना मानिसहरू हालसम्म सम्पर्कविहीन रहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार, नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली खटाएर हवाई रेकी गर्नेसहितका खोजी कार्यहरू भइरहेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले दिएको जानकारीअनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर सम्पर्कविहीन हुनेहरूमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी रहेका छन् । यसैगरी, निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी पनि सम्पर्कविहीन छन् ।
बाढी आउँदा भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए । बाहिर निस्कन सफल भएका उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।

