रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रको भौतिक पूर्वाधारसँगै अर्बौँ रुपैयाँको कर्जा तथा निक्षेपसमेत प्रभावित बनाएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती शाखाबाट प्रवाह भएको २ अर्ब ३३ करोड १३ लाख ३३ हजार रुपैयाँभन्दा बढी कर्जा प्रभावित भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार, क्षतिग्रस्त शाखाहरूमा २ हजार २८ वटा ऋण खाता सञ्चालनमा थिए । ती खातामार्फत सर्वसाधारण, व्यवसायी तथा स्थानीय क्षेत्रमा कुल २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको थियो । शाखाका भवन, कागजात, उपकरण तथा अन्य भौतिक संरचनामा क्षति पुगे पनि बैंकहरूको डिजिटल प्रणालीमा ग्राहक तथा कर्जासम्बन्धी अधिकांश विवरण सुरक्षित रहेको संघले जनाएको छ ।
बाढी प्रभावित १६ वटा शाखामा ७३ हजार २ सय ७५ वटा निक्षेप खाता सञ्चालनमा थिए । ती खातामा कुल ३ अर्ब ९८ करोड ८४ लाख १९ हजार रुपैयाँ निक्षेप रहेको प्रारम्भिक तथ्यांक छ । यसले बाढीले बैंकका शाखा कार्यालयमा मात्र नभई ठूलो संख्यामा निक्षेपकर्ता र ऋणीको वित्तीय पहुँचलाई समेत प्रभावित बनाएको देखाउँछ ।
बाढीबाट कृषि विकास बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुमानअनुसार उक्त शाखामा करिब ५० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । शाखामा रहेका ६४ वटा लकरसमेत बगेका वा क्षतिग्रस्त भएका छन् । शाखाको भल्टमा रहेको १ करोड ७१ लाख २१ हजार रुपैयाँ, क्यास काउन्टरमा रहेको ४२ लाख रुपैयाँ र एटीएममा रहेको ५ लाख ६५ हजार रुपैयाँसमेत बाढीको प्रभावमा परेको छ ।
त्यस्तै, हिमालयन बैंकको बेत्रावती शाखाको भल्टमा रहेको करिब २ करोड ८९ लाख ६० हजार रुपैयाँ तथा एटीएममा रहेको ३५ लाख ४९ हजार ५ सय रुपैयाँ पनि प्रभावित भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा रहेको नगदसमेत बाढीमा परेको प्रारम्भिक विवरण छ ।
प्रारम्भिक तथ्यांकअनुसार १५ वटा शाखाको भल्टमा रहेको कुल १५ करोड २ लाख १० हजार रुपैयाँ नगद बाढीमा परेको छ । त्यस्तै, सात वटा बैंकका एटीएमको अवस्था अझै स्पष्ट हुन सकेको छैन । ती एटीएममा करिब १ करोड ७ लाख ५६ हजार ५ सय रुपैयाँ नगद लोड गरिएको थियो । भल्ट र एटीएमको रकमसमेत जोड्दा बैंकिङ क्षेत्रमा प्रत्यक्ष नगद क्षति १७ करोड रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुमान छ ।
बैंकिङ क्षेत्रको कुल भौतिक क्षति भने करिब ५५ करोड १६ लाख २८ हजार रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान छ । यसमध्ये सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको त्रिशूली शाखामा भएको बताइएको छ । यद्यपि, क्षतिको अन्तिम विवरण भने थप अध्ययन र विवरण संकलनपछि मात्र यकिन हुने संघले जनाएको छ ।
जलविद्युत् क्षेत्रमा बैंकको अर्बौँ लगानी जोखिममा
बाढी प्रभावित क्षेत्रमा बैंकहरूको जोखिम शाखा तथा स्थानीय कर्जामा मात्र सीमित छैन । प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका १३ वटा जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेका छन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब ६७५ मेगावाट रहेको छ ।
बैंकहरूले ती आयोजनामा सहवित्तीयकरणमार्फत अर्बौँ रुपैयाँ लगानी गरेका छन् । बाढीका कारण आयोजनाको उत्पादन, संरचना तथा सञ्चालनमा गम्भीर असर परेमा परियोजनाको आम्दानी घट्न सक्ने र त्यसको प्रत्यक्ष प्रभाव कर्जा भुक्तानी क्षमतामा पर्न सक्ने जोखिम देखिएको छ ।
यसरी, एकातर्फ शाखा, भल्ट र एटीएममा प्रत्यक्ष क्षति भएको छ भने अर्कोतर्फ अर्बौँ रुपैयाँको कर्जा तथा जलविद्युत् परियोजनामा गरिएको लगानीसमेत जोखिममा परेको छ । प्रभावित क्षेत्रका ग्राहकलाई वैकल्पिक शाखा तथा डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने प्रयास भइरहेको बैंकर्स संघले जनाएको छ । बाढीपछि बैंकिङ सेवा नियमित बनाउनु, प्रभावित ऋणीलाई सहजीकरण गर्नु र परियोजनागत कर्जाको जोखिम व्यवस्थापन गर्नु बैंकिङ क्षेत्रका लागि आगामी दिनको प्रमुख चुनौती बनेको छ ।

