नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालैको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण कम्पनीको आयोजना, उत्पादन, सम्पत्ति तथा वित्तीय अवस्थामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै लगानीकर्ताको हित संरक्षण र बजार पारदर्शिता कायम गर्न बोर्डले यस्तो निर्देशन दिएको हो ।
विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीले क्षति पुर्याएपछि ती कम्पनीको धितोपत्र कारोबारमा अस्वाभाविक गतिविधि हुन सक्ने जोखिमलाई बोर्डले गम्भीर रूपमा लिएको छ ।
सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । त्यस्ता कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको असरसम्बन्धी विवरण संकलन गरी आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न पनि बोर्डले भनेको छ ।
प्रभावित कम्पनीले आयोजना वा परियोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षतिको अवस्था, विद्युत् उत्पादनमा परेको प्रभाव तथा उत्पादन क्षमता प्रभावित भएको परिमाणबारे जानकारी सार्वजनिक गर्नुपर्नेछ । त्यसैगरी मानवीय क्षति, प्रसारण तथा वितरण पूर्वाधारमा परेको असरसम्बन्धी विवरणसमेत सार्वजनिक गर्नुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण तथा अस्वाभाविक खरिद–बिक्री आदेशमाथि निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारलाई समेत निगरानीको दायरामा राख्न बोर्डले भनेको छ ।
प्राकृतिक विपद्का कारण कुनै कम्पनीको वित्तीय अवस्था कमजोर हुने वा भविष्यको व्यावसायिक क्षमतामा असर पर्ने सूचना सार्वजनिक हुनुअघि सीमित व्यक्तिले कारोबार गरी अनुचित लाभ लिन सक्ने सम्भावनालाई समेत बोर्डले ध्यानमा राखेको छ । बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि पनि निगरानी बढाउन निर्देशन दिइएको छ ।
यसैगरी, प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई सम्बोधन गर्ने गरी सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत बोर्डले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रभावित कम्पनीले आयोजना बीमित भए वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने सम्भावित असर र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमबारे पनि लगानीकर्तालाई जानकारी गराउनुपर्नेछ ।
बोर्डले प्रभावित कम्पनीसम्बन्धी सूचना समयमा सार्वजनिक नहुँदा बजारमा भ्रम सिर्जना हुन सक्ने र त्यसले सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउन सक्ने भएकाले सूचना प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै, यस विषयमा भइरहेको कार्यप्रगति र धितोपत्र बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

