Banijya News

दुई प्रमुख उत्तरी नाका बन्द, चीनसँगको व्यापारमा थप दबाब

1
1.0K Shares

बाढी तथा पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले तत्काल व्यापारिक गतिविधि सञ्चालन गर्न नसकिने चिनियाँ पक्षले जनाएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तातोपानी नाकाको आसपासको क्षेत्रमा समेत जोखिम बढेको छ । विशेषगरी लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म नाकाबाट व्यापारिक गतिविधि सुचारु गर्न कठिन हुने बताइएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार पहिरोको जोखिम कायम रहेकाले तातोपानीबाट व्यापारिक आवतजावत तत्काल सुरु हुने सम्भावना न्यून छ । यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहनेछ ।

यसअघि नै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालको अर्को प्रमुख उत्तरी नाका रसुवागढी प्रभावित छ । बाढीले रसुवाको टिमुरे बजारसहित भन्सार तथा अध्यागमन कार्यालयमा ठूलो क्षति पुर्‍याएपछि रसुवागढी नाका पनि व्यापारिक गतिविधिका लागि ठप्प अवस्थामा छ ।

तातोपानी र रसुवागढी दुवै प्रमुख उत्तरी नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि कोरला नाका सञ्चालनमा रहेको प्रमुख वैकल्पिक मार्ग बनेको छ । तर, दुई प्रमुख नाका एकैपटक अवरुद्ध हुँदा चीनबाट हुने आयात तथा नेपालबाट हुने निर्यातमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

विशेषगरी चिनियाँ बजारबाट नेपाल भित्रिने दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य व्यापारिक सामानको आपूर्ति प्रभावित हुन सक्ने जोखिम बढेको छ । सीमावर्ती क्षेत्रमा हुने व्यापार तथा व्यवसायमा समेत यसको असर पर्ने देखिएको छ ।

प्राकृतिक विपद्का कारण उत्तरी सीमाका व्यापारिक पूर्वाधारमा क्षति पुगेपछि नेपालतर्फको आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको छ । नाका कहिले पूर्णरूपमा सञ्चालनमा आउने भन्ने विषय भने बाढी तथा पहिरोको जोखिम घट्नुका साथै क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापनामा निर्भर रहनेछ ।

1

Scroll to Top