भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ । बाढीबाट उद्योग, पूर्वाधार, सवारीसाधन तथा अन्य सम्पत्तिमा भएको क्षतिका कारण बीमा दाबीको आकार ठूलो देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ १५ गतेसम्मको विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन् । ती बीमालेखबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।
कम्पनीगत रूपमा सबैभन्दा ठूलो दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ८ वटा बीमालेखबाट मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ तथा सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँको दाबी परेको छ ।
उता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार र शिखर इन्स्योरेन्समा १२७ बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार, नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार र नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।
बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा देखिएको छ । यसअन्तर्गत ५२ वटा बीमालेखबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
त्यस्तै, सम्पत्ति बीमामा ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार, मोटर बीमामा ३१३ बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार र परिवहन बीमामा ४७ बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको दाबी परेको छ ।
अन्य बीमाअन्तर्गत ५४ बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार तथा स्वास्थ्य बीमामा ४ बीमालेखबाट ४१ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

