पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ । भदौ १० गते बुधबार भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडक विभागले कृष्णभीरको अवरुद्ध सडकलाई उच्च प्राथमिकतामा राख्दै १५ दिनभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको जनाएको छ । सडक खुलाउन प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरिएको छ ।
पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले नदीमा आएको उच्च बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पहिरो खसेको बताए। उनका अनुसार राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन सम्भव सबै उपाय अपनाइनेछ ।
‘राजमार्ग नेपालकै लाइफलाइन भएकाले यसलाई उच्च प्राथमिकता दिएका छौँ,’ ढकालले भने, ‘विज्ञहरूको राय र विभागको प्राविधिक अध्ययनका आधारमा सकेसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न हुन्छ ।’
उनका अनुसार, सडक पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भए पनि तत्कालका लागि वैकल्पिक मार्ग तथा स्थानीय सडक प्रयोग गरी यातायात व्यवस्थापन गर्ने तयारी भइरहेको छ । सडक विभागले आवश्यकताअनुसार यातायातलाई वैकल्पिक रुटमा डाइभर्ट गर्ने योजना बनाएको छ ।
कृष्णभीरमा सडकको तल्लो भाग नदीले कटान गरेपछि माथिल्लो भागसमेत जोखिममा परेको छ । विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यका अनुसार अहिलेको पहिरो पुरानो स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको हो । तत्काल सडक सञ्चालनमा ल्याउन माथिल्लो भागमा रहेको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको उनले बताए ।
उनका अनुसार, प्रभावित क्षेत्रमा करिब १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाइसम्मको भूभागमा ठूलो मात्रामा माटो तथा ढुंगामाटो हटाउनुपर्ने देखिएको छ । तीनदेखि चारवटा मेसिन एकैपटक परिचालन गरी तीव्र गतिमा काम गर्न सके १५ दिनभित्र सिंगल लेन सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
आचार्यले सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणबद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने बताए । ड्रोनबाट खिचिएका तस्बिरको प्रारम्भिक अध्ययनमा नदीको तल्लो भागमा बेडरक रहेको हुन सक्ने देखिएको भन्दै उनले हाल नदी कटान केही रोकिएको अवस्था देखिएकाले माथिल्लो भागबाट डाइभर्सन निकालेर सडक खोल्न सकिने सम्भावना रहेको बताए ।
तल्लो भागलाई थप कटान हुन नदिन जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले र्याप गर्ने प्रविधि प्रयोग गर्न सकिने विभागको भनाइ छ । यस्तो संरचनाले नदीको ‘टो–स्कर’ तथा कटान नियन्त्रण गरी विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग पुग्ने आचार्यले बताए ।
उनका अनुसार, पहिरो पन्छाएर तत्काल सिंगल लेन सडक सञ्चालनमा ल्याउने र पछि स्थायी संरचना निर्माणतर्फ जान सकिनेछ । ‘वैकल्पिक बाटो सम्भव भए ट्राफिक डाइभर्ट गर्नुपर्छ। यहीँबाट खोल्नुपर्ने अवस्था भए नजिकैबाट डाइभर्सन निकालेर सडक सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।
कृष्णभीरको घटनाले नदी करिडोरमा निर्माण भएका तथा निर्माण हुने सडकलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउनुपर्ने आवश्यकता पनि देखाएको सडक विभागको निष्कर्ष छ । सहसचिव ढकालले नदीको उच्च बहावलाई ध्यानमा राखेर भविष्यमा सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङको विकल्पसमेत अपनाउनुपर्ने बताए ।
सुरुआती निर्माण लागत केही बढे पनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । पछिल्लो विपद्ले नदी कटान र पहिरोको जोखिमलाई ध्यानमा नराखी निर्माण गरिएका सडक संरचना दीर्घकालीन रूपमा कमजोर हुन सक्ने देखाएको विभागको आकलन छ ।
पृथ्वीराजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक भएकाले कृष्णभीरको अवरोधले यातायात तथा आपूर्ति व्यवस्थामा समेत दबाब सिर्जना गर्ने देखिएको छ । त्यसैले सडक विभागले स्थायी समाधानसँगै तत्कालीन रूपमा वैकल्पिक मार्ग प्रयोग गरेर यातायात सञ्चालन गर्ने रणनीति अघि बढाएको हो ।


