रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीले भौतिक पूर्वाधारसँगै बैंकिङ क्षेत्रको लगानीमा समेत गम्भीर असर पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा बैंकहरूले घर–जग्गा धितो राखेर प्रवाह गरेको अर्बौं रुपैयाँको कर्जा अहिले उच्च जोखिममा परेको छ ।
बाढीका कारण कतिपय क्षेत्रमा धितोका रूपमा राखिएका घर, भवन तथा अन्य भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका छन् । कतिपय स्थानमा भूगोल नै परिवर्तन हुने गरी क्षति पुगेकाले बैंकका लागि धितो लिलाम गरेर कर्जा असुल गर्ने आधारसमेत कमजोर बनेको छ । प्रारम्भिक विवरणअनुसार २ हजार २८ वटा कर्जा खाता अहिले उच्च जोखिममा परेका छन् ।
बैंकिङ क्षेत्रबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका ११ वटा वाणिज्य बैंकले व्यक्तिगत तथा व्यवसायिक क्षेत्रमा २ अर्ब ४२ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । उक्त कर्जा घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद तथा होटल, लज र साना व्यवसाय सञ्चालनका लागि प्रवाह गरिएको थियो ।
बाढीले कर्जाको धितोमा मात्र क्षति पुर्याएको छैन, बैंकहरूको प्रत्यक्ष नगद तथा भौतिक सम्पत्तिसमेत बगाएको छ । विभिन्न बैंकका शाखा तथा एक्सटेन्सन काउन्टर बाढीले बगाउँदा बैंकका भल्टसमेत सुरक्षित रहन सकेनन्। प्रारम्भिक विवरणअनुसार बैंकका भल्टमा रहेको १५ करोड २ लाख रुपैयाँ तथा विभिन्न स्थानका एटीएममा रहेको १ करोड ७ लाख रुपैयाँ नगद बाढीले बगाएको छ ।
त्यस्तै, बैंकका भवन, फर्निचर, कम्प्युटर तथा अन्य उपकरणमा गरी ५५ करोड १६ लाख रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । शाखा संरचना नै ध्वस्त भएपछि प्रभावित क्षेत्रमा तत्काल बैंकिङ सेवा पुनः सञ्चालन गर्नसमेत चुनौती थपिएको छ ।
बैंकिङ क्षेत्रका लागि अर्को ठूलो चुनौती भनेको प्रभावित क्षेत्रमा रहेको निक्षेप हो । प्रारम्भिक विवरणअनुसार ७५ हजारभन्दा बढी सर्वसाधारणको ४ अर्ब ७२ करोड रुपैयाँबराबरको निक्षेप बैंकहरूले संकलन गरेका थिए । ग्राहकको निक्षेप फिर्ता गर्ने दायित्व बैंकसँग रहे पनि सोही निक्षेपबाट परिचालन गरिएको कर्जा असुलीमा समस्या देखिएपछि बैंकहरूको वित्तीय सन्तुलनमा थप दबाब पर्ने देखिएको छ ।
जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी जोखिममा पर्नुले समस्या अझ गम्भीर बनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये ८ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन आयोजना छन् । आयोजनाहरूमा बैंकहरूले सहवित्तीयकरणमार्फत ठूलो रकम लगानी गरेका छन् । आयोजनाको क्षतिको पूर्ण विवरण तथा बैंकहरूको लगानी हिस्सा यकिन हुन बाँकी रहेकाले बैंकिङ क्षेत्रको वास्तविक वित्तीय क्षति हाल देखिएको २ अर्ब ४२ करोड रुपैयाँभन्दा निकै ठूलो हुने अनुमान गरिएको छ ।
बाढीले बैंकिङ क्षेत्रलाई मानवीय रूपमा पनि प्रभावित बनाएको छ । प्रभावित क्षेत्रमा कार्यरत ११ बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ । कर्मचारी बेपत्ता हुनुका साथै शाखा तथा संरचना नै नष्ट हुँदा क्षतिको पूर्ण विवरण संकलन र बैंकिङ सेवा पुनः सञ्चालनमा थप कठिनाइ भएको छ ।
बैंकिङ क्षेत्रले एकैपटक कर्जा असुली, निक्षेप व्यवस्थापन, भौतिक सम्पत्तिको क्षति र कर्मचारी सुरक्षाजस्ता चुनौती सामना गरिरहेको छ । यस्तो अवस्थामा बैंकहरूले मात्रै क्षति व्यवस्थापन गर्न कठिन हुने देखिएको छ ।
विशेषगरी धितो नै नष्ट भएका ऋणीलाई कर्जा पुनर्तालिकीकरण, पुनर्संरचना तथा अन्य राहत दिनुपर्ने अवस्था देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रभावित क्षेत्रका ऋणी र बैंकका लागि विशेष व्यवस्था नगरेमा बाढीका कारण कर्जाको गुणस्तरमा गिरावट आउनुका साथै खराब कर्जा (एनपीएल) बढ्ने जोखिम देखिएको छ । त्यसैले असाधारण विपद्बाट सिर्जित वित्तीय संकट व्यवस्थापनका लागि नियामक तहबाट तत्काल विशेष नीति र राहत प्याकेज आवश्यक देखिएको छ ।

