काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट भोजपुरमा रु. नौ करोड बढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु. नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व संकलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण गरिएको छ । काठ निकासीबाट मात्र रु. आठ करोड १२ लाख ९३ हजार ९२५ मूल्य अभिवृद्धि कर र रु. एक करोड ४६ लाख ५२ हजार ९०० प्रदेश सेवा शुल्क संकलन भएको उनले जानकारी दिए ।
वन क्षेत्रबाट हुने काठ तथा अन्य वन पैदावारको कारोबारबाट जिल्लामा नौ करोड बढी राजस्व संकलन भएको बताउँदै प्रमुख मियाले भने, ‘वन पैदावारको उपयोगसँगै यसको व्यवस्थित व्यवस्थापन र संरक्षणमा समेत ध्यान दिइरहेका छौँ ।’
त्यस्तै, रु. पाँच लाख ४१ हजार ८० वन रोयल्टी संकलन भएको कार्यालयले जनाएको छ । वन क्षेत्रबाट राजस्व संकलन हुनाका साथै स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर पनि सिर्जना गरेको कार्यालय प्रमुख मियाले बताए ।
वन क्षेत्रबाट प्राप्त राजस्व र रोजगारीले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएको छ । जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीय स्तरमा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको भनाइ छ ।
जिल्लाको कुल भू–भागमध्ये ८४ हजार १६१ हेक्टर अर्थात् ५५।२८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । वन पैदावारको दिगो उपयोग, स्थानीय स्तरमै प्रशोधन तथा मूल्य अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन सके जिल्लाले वन क्षेत्रबाट थप आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना छ ।


