सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत साता आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्युवरण भएका मृतकका परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दै कम्पनीले मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेललगायतको उपस्थिति थियो । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस आर्थिक सहयोगबाट राष्ट्रिय विपद्को सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनर्स्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिइएको छ ।

