Banijya News

विपद् प्रभावित क्षेत्रमा लघुवित्त शाखा सार्न राष्ट्र बैंकको बाटो खुला

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सञ्चालन गर्न कठिन भएका लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई स्थानान्तरण वा नजिकैको अर्को शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार वि.सं. २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा तथा कार्यालयले राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन् ।

प्राकृतिक विपद्का कारण शाखा कार्यालयको भौतिक संरचनामा क्षति पुगेको, सेवा सञ्चालनमा कठिनाइ भएको वा सेवाग्राहीसम्म पुग्न समस्या देखिएको अवस्थामा शाखा व्यवस्थापनलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो लचकता अपनाएको हो ।

शाखा स्थानान्तरण वा समायोजन गर्दा प्रभावित क्षेत्रका सेवाग्राहीलाई वित्तीय सेवा निरन्तर उपलब्ध गराउन सहज हुने राष्ट्र बैंकको अपेक्षा छ । यसबाट विपद्का कारण अवरुद्ध भएको लघुवित्त सेवा पुनः सञ्चालन गर्न संस्थाहरूलाई समेत सहयोग पुग्नेछ ।

तर, पूर्वस्वीकृतिबिना शाखा स्थानान्तरण वा समायोजन गरेपछि सम्बन्धित लघुवित्त वित्तीय संस्थाले त्यसको जानकारी भने अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकलाई गराउनुपर्नेछ । यस्तो जानकारी शाखा स्थानान्तरण वा समायोजन गरेको मितिले सात दिनभित्र दिनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा वित्तीय सेवा प्रवाहलाई निरन्तरता दिन तथा शाखा व्यवस्थापनमा देखिएका व्यावहारिक कठिनाइ समाधान गर्न उक्त व्यवस्था थप गरेको जनाएको छ ।

1

Scroll to Top