Banijya News

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, बाढीमा विलीन भए २७ सम्पदा

1
1.0K Shares

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारले जनाएको छ । बाढीले होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायका सवारी साधन, पदमार्ग तथा धार्मिक एवं सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन क्षेत्रमा भएको क्षतिको प्रारम्भिक मूल्यांकनबाट ५० अर्ब रुपैयाँभन्दा बढी पुगेको जानकारी दिएका हुन् । उनका अनुसार, बाढीबाट भएको प्रत्यक्ष क्षतिसँगै आगामी दिनमा पर्यटन गतिविधिमा पर्ने असरलाई समेत मूल्यांकन गरिएको छ ।

मन्त्री पौडेलका अनुसार, बाढीका कारण रसुवामा १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् । यस्तै, २७ वटा धार्मिक तथा सांस्कृतिक सम्पदा बाढीले बगाएको उनले जानकारी दिए । बाढीले मन्दिर, मस्जिद, गुम्बा तथा सन्धि शिलालगायतका सम्पदामा समेत क्षति पुर्‍याएको छ ।

बाढीले रसुवाका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने पदमार्गमा समेत व्यापक क्षति पुर्‍याएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, पार्वती कुण्ड र नाचेली लगायतका क्षेत्रमा जाने प्रमुख पदमार्ग प्रभावित बनेका छन् । पदमार्ग तथा पूर्वाधारमा भएको क्षतिले आगामी पर्यटकीय गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने सरकारको आकलन छ ।

मन्त्री पौडेलले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न पर्यटन क्षेत्रका व्यवसायीलाई आ–आफ्नो क्षेत्रको क्षतिको विवरण पेश गर्न आग्रह गरिएको बताए । उनले भने, ‘हामीले पर्यटन क्षेत्रको क्षेत्रगत प्रारम्भिक क्षतिको मूल्यांकन गर्दा ५० अर्बभन्दा बढी भएको मूल्यांकन गरेका छौँ । त्यसले भविष्यमा पार्ने असरलाई पनि हामीले मूल्यांकन गरेका छौँ ।’

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा पर्यटक व्यवस्थापनका लागि निजी क्षेत्रका हेलिकप्टरलाई एकीकृत गरी एकद्वार प्रणालीबाट उद्धारको काम गरिएको मन्त्री पौडेलले बताए । पछिल्लो समय दैनिक पाँचवटा हेलिकप्टर उडानका लागि अनुमति दिने गरिएको र त्यसबाहेक सरकारी हेलिकप्टरबाट उद्धार तथा आवश्यक काम भइरहेको उनले जानकारी दिए ।

बाढीबाट प्रभावित पर्यटकलाई पोखरा, चितवन र काठमाडौंका होटल व्यवसायीले निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरेर सहयोग गरेको पनि उनले बताए ।

मन्त्री पौडेलले रसुवा बाढी प्रभावित क्षेत्रलाई भविष्यमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी दिए । त्यस क्षेत्रमा पार्क, मूर्ति, संग्रहालयलगायतका संरचना निर्माण गर्ने तयारी रहेको उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण रसुवामा आएको बाढीबाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले हिमाललाई ‘ग्लोबल क्लाइमेट हेरिटेज’ का रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय समुदायसँग स्वीकृतिका लागि पहल गर्ने बताए । चालु आर्थिक वर्षको बजेटमै यस विषयलाई अघि बढाउने उल्लेख भएकाले सरकार त्यसलाई प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजाने उनले बताएका छन् ।

1

Scroll to Top