Banijya News

माथिल्लो त्रिशूली–१ मा बाढीको कहर : ५५७ जना सम्पर्कविहीन, सुरुङभित्र ११५ जना फसेको आशंका

1
1.0K Shares

गत भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरोपछि रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई तहसनहस बनाएको छ । आयोजनास्थलमा कार्यरत १ हजार ४३३ जनामध्ये ५५७ जना अझै सम्पर्कविहीन छन् ।

आमाछोदिङ्मो गाउँपालिका–१, हाकु तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको बाँध (हेडवर्क्स), विभिन्न संरचना, कार्यालय तथा आवास क्षेत्र बाढीले पूर्ण रूपमा बगाएको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार, बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो परिमाणमा पानी र लेदो आयोजनास्थलमा प्रवेश गरेपछि निर्माणस्थल तथा कार्यालयमा रहेका अधिकांश कर्मचारी र श्रमिक सुरक्षित स्थानमा जान सकेनन् ।

बाढीपछि हालसम्म ८७६ जनाको उद्धार गरिएको छ । तर सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ ।

सम्पर्कविहीन हुनेमा प्रवर्धक कम्पनीका १५ जना, जेड कन्सल्टका ७ जना, मुख्य निर्माण ठेकेदार डुसानका ५६ जना, पावर चाइनाका ३८५ जना र एन्ड्रिज हाइड्रोका ९४ जना कर्मचारी छन् । आयोजनामा नेपालीसँगै कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका जनशक्ति कार्यरत थिए ।

विकट भौगोलिक अवस्था, बाक्लो लेदो, सुरुङभित्रको जोखिम तथा प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ ।

उद्धारका लागि सरकारका निकायसँग समन्वय गरी कोरिया र चीनबाट विज्ञ तथा अत्याधुनिक उपकरणसहितका टोली आयोजनास्थलमा परिचालन गरिएको छ । नेपाली सेना, सुरक्षा निकाय, नेपाल माउन्टेन रेस्क्यू एसोसिएसनलगायत विशेष टोलीले ड्रोन, म्यान्ट्रेलिङ र एयर–स्क्यानिङ प्रविधिबाट स्थल तथा हवाई माध्यम हुँदै खोजी गरिरहेका छन् ।

सुरुङ तथा हेडवर्क्स क्षेत्रबाट पानी र लेदो हटाउन पम्प तथा जेनेरेटरसमेत पठाइएको छ । कम्पनीले बेपत्ता व्यक्तिका परिवारसँग नियमित सम्पर्कमा रही परामर्श उपलब्ध गराउनुका साथै सरकारको ‘वार रुम’ बैठकमार्फत उद्धार कार्यलाई तीव्रता दिइरहेको जनाएको छ ।

1

Scroll to Top