सोपान फर्मास्युटिकल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य गिरावट आएको जनाएको छ । कम्पनीले समीक्षा अवधिमा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.४२ प्रतिशत कम हो। अघिल्लो आवमा कम्पनीले २१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानी भने सामान्य बढेको छ । अघिल्लो आवमा ५० करोड ५ लाख रुपैयाँ रहेको आम्दानी बढेर गत आवमा ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । यद्यपि, अन्य आम्दानी भने १ करोड ५७ लाख रुपैयाँबाट घटेर १२ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ५ करोड ६८ लाखबाट घटेर ४ करोड ३९ लाख रुपैयाँमा आएको छ । तर बिक्री तथा वितरण खर्च ४ करोड ७ लाखबाट बढेर ६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्चसमेत ४ करोड २७ लाखबाट बढेर ६ करोड २० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको रिजर्भमा ३६ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) १८.३३ रुपैयाँबाट घटेर २.२३ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ ९६.३४ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५७.८२ रुपैयाँ कायम भएको छ ।

