राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिका उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । आयोगले विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आयोगका अनुसार, रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धारको अवस्था, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको छ ।
बाढीपछि उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शकर्ता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थासहित मानवीय सहयोगमा जुटेका सर्वसाधारणप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।
आयोगले विपद्को असहज परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका गतिविधिमा सरकारलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, मानवीय सहायताका काममा सक्रिय हुन तथा बाढी प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।
आयोगले अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहनसमेत आग्रह गरेको छ । यस्तै, प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःस्थापनाका काम प्रभावकारी बनाउन निजी क्षेत्रसँग समेत आवश्यक सहकार्य र समन्वय गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

