भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले राहत, उद्धार तथा तत्काल आवश्यक व्यवस्थापनका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई चरणमा उक्त रकम उपलब्ध गराएको हो । पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो ।
बाढीपछि सरकारले रसुवा र नुवाकोटका लागि १/१ करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ दिने प्रारम्भिक निर्णय गरेको थियो । त्यसपछि प्रभावित स्थानीय तहको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप रकम उपलब्ध गराइएको सरकारले जनाएको छ ।
निकासा भएको रकममध्ये रसुवाको उत्तरगया गाउँपालिकाले १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाले २ करोड, कालिका गाउँपालिकाले ६० लाख र आमाछोदिङ्मो गाउँपालिकाले ४० लाख रुपैयाँ पाएका छन् ।
यसैगरी, नुवाकोटको विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यस्तै, धादिङको गल्छी गाउँपालिकालाई ६० लाख तथा सिद्धलेक, गजुरी र बेनीघाट गाउँपालिकालाई ४०/४० लाख रुपैयाँ निकासा गरिएको छ । गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०/४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको सरकारले जनाएको छ । त्यसमध्ये भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ ।
यस्तै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोतलाई आवश्यकताका आधारमा परिचालन गरिने बताइएको छ ।

