सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड आर्थिक सहयोग गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले संयुक्त रूपमा उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपतमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
कम्पनीका अनुसार, विपतको कठिन परिस्थितिमा गरिएको उक्त सहयोगले बाढी प्रभावित नागरिकका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
सूर्यज्योति लाइफले राष्ट्रलाई आवश्यकता परेका विभिन्न प्रतिकूल परिस्थितिमा विगतदेखि नै आर्थिक तथा अन्य प्रकारका सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ ।

