Banijya News

मलेसिया रोजगारीमा २५ कम्पनीको सिण्डिकेट रोक्न रवि लामिछानेलाई व्यवसायीको आग्रह

1
1.0K Shares

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सहभागी गराउने प्रयास भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार)को नेतृत्वमा बिहीबार गएको प्रतिनिधिमण्डलले लामिछानेलाई भेट गरी मलेसिया रोजगारीमा देखिएको भनिएको सिण्डिकेटको प्रयास तथा समग्र वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका विषयमा छलफल गरेको हो ।

भेटमा विशेषगरी मलेसियामा नेपाली श्रमिक भर्ना गर्ने प्रक्रियामा प्रयोग भइरहेको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मार्फत सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सहभागी गराउने प्रयास भइरहेको विषय उठाइएको संघले जनाएको छ । यस्तो व्यवस्था कार्यान्वयन भए अन्य व्यवसायी संस्थालाई श्रमिक पठाउने प्रक्रियाबाट बाहिर राखिने भन्दै संघले आपत्ति जनाएको हो ।

संघका अनुसार, सभापति लामिछानेले व्यवसायीहरूले उठाएका अधिकांश विषयबारे आफू जानकार रहेको बताएका थिए । उनले सम्बन्धित विषयमा नेपाल र मलेसियाबीच आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।

संघका अध्यक्ष खत्रीले मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले त्यहाँ श्रमिक पठाउने अधिकार निश्चित व्यवसायीमा मात्र सीमित गर्ने कुनै पनि अभ्यास स्वीकार्य नहुने बताए । वैदेशिक रोजगारको अवसर कुनै सीमित समूहको नियन्त्रणमा जाने अवस्था बन्नु नहुने बताउँदै उनले सबै व्यवसायीले स्पष्ट मापदण्डका आधारमा समान रूपमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने तर्क गरे ।

२५ वटा संस्थालाई मात्रै प्रक्रियामा सहभागी गराउने आधार, छनोट गर्ने निकाय तथा अपनाइएको प्रक्रियाबारे पारदर्शिता आवश्यक रहेको उनले बताए । सीमित व्यवसायीलाई मात्रै श्रमिक पठाउने अवसर दिँदा व्यवसायीबीच असमानता सिर्जना हुनुका साथै त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव श्रमिकमाथि समेत पर्न सक्ने संघको भनाइ छ ।

श्रमिकको हित, व्यवसायीको समान अधिकार तथा वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, व्यवस्थित र श्रमिकमैत्री बनाउन सरकार, राजनीतिक दल र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको खत्रीले बताए ।

संघले सरकारसँग निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या र नीतिगत कमजोरी सम्बोधन गर्न आवश्यक पहल गरिरहेको भन्दै त्यसमा संघले आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने अध्यक्ष खत्रीले बताए ।

1

Scroll to Top