भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सिक्किमबाट आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गर्ने भएको छ । सिक्किमका मुख्यमन्त्री पीएस गोलेको पहलमा आएको टोलीले आज नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई अत्यावश्यक सामग्री वितरण गर्न लागेको हो ।
टोलीले प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस, स्लिपिङ ब्यागलगायत सामग्री उपलब्ध गराउने जनाएको छ । विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीको भनाइ छ ।
राहत टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन् । उनका अनुसार, प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यले सिक्किमबाट राहत सामग्रीसहित स्वयंसेवक टोली नेपाल आएको हो ।
राहत अभियानमा नवप्रवर्तन तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, नेपाली काँग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले समन्वय गरेका थिए । टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गरेका थिए । राहत टोलीको स्वागत तथा समन्वय कार्यक्रम बुढानीलकण्ठस्थित होटल सव्रीनामा आयोजना गरिएको थियो ।
कार्यक्रममा विपद्का समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।
टोलीका नेतृत्वकर्ता लाचुम्पाले सिक्किमका पूर्वमुख्यमन्त्री मनिक कुमार सुब्बा र नरबहादुर भण्डारीले भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीप्रति देखाउँदै आएको आत्मीयताजस्तै वर्तमान मुख्यमन्त्री पीएस गोलेले पनि भारतभर रहेका नेपालीको अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए । उनले निकट भविष्यमा थप राहत सामग्रीसहित टोली नेपाल आउने जानकारीसमेत दिए ।
भोटेकोशी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्ला प्रभावित भइरहेका बेला सिक्किमबाट आएको सहयोगले प्रभावित परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

