Banijya News

हाइड्रोपावरको सुरुङमा फसेकाको खोजी तीव्र, रसुवामा २,५६४ जना अझै सम्पर्कविहीन

1
1.1K Shares

भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको भीषण बाढीपछि रसुवा जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढीका कारण दुर्गम र जोखिमपूर्ण बनेका सुरुङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोली परिचालन भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ । सुरुङभित्रको अवस्था तथा बाढीपहिरोका कारण उत्पन्न जोखिमका बीच उद्धार टोलीले सम्भावित स्थानमा खोजीलाई प्राथमिकता दिएको छ ।

यसैबीच, बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म १४० जनाको शव संकलन गरिएको छ । संकलित शवमध्ये १३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि जिल्लाका विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य एकैसाथ सञ्चालन भइरहेको छ ।

जिल्ला आपत्‌कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपछि रसुवामा मात्रै दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन् । हराइरहेकामध्ये नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

त्यस्तै, सरकारी कर्मचारी ७९ जना, बैंक तथा वित्तीय संस्थामा कार्यरत २६ जना, रसुवाका स्थानीय नागरिक एक हजार २२६ जना, अन्य जिल्लाका ८८२ जना तथा २४३ जना पर्यटक सम्पर्कविहीन रहेको केन्द्रले जनाएको छ ।

बाढीपछि सुरुङ तथा जलविद्युत् आयोजनाका क्षेत्रमा सम्पर्कविहीन भएकाको अवस्थाबारे यकिन विवरण प्राप्त गर्न कठिन भइरहेको अधिकारीहरूले बताएका छन् । उद्धार टोलीले जोखिमपूर्ण क्षेत्र पहिचान गर्दै सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिइरहेको छ ।

यसअघि बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक, पुल तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । पछिल्लो घटनापछि उद्धार, शव संकलन तथा सम्पर्कविहीनको खोजीलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ ।

1

Scroll to Top