नेपाल–चीन सीमा क्षेत्रको रसुवामा गत भदौ १० गते (२६ अगस्ट) आएको भीषण बाढीपहिरोपछि नेपालको पर्यटन क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान गरेको छ । प्राकृतिक विपत्तिबाट केही क्षेत्र प्रभावित भए पनि समग्र नेपालमा पर्यटन गतिविधि नरोकिएको भन्दै पर्यटन व्यवसायी र सरकारी निकायले पर्यटकलाई भ्रमण जारी राख्न आग्रह गरेका हुन् ।
नेपाल पर्यटन बोर्डले १ सेप्टेम्बरमा सार्वजनिक गरेको ‘नेपाल खुला छ’ सन्देशमार्फत केही क्षेत्रमा प्राकृतिक विपत्तिको असर परे पनि नेपाल पर्यटकका लागि खुला रहेको जनाएको छ । बोर्डले पर्यटकको आगमनले विपत्तिबाट प्रभावित समुदायको जीविकोपार्जन र स्थानीय अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने बताएको छ ।
यसैबीच, पर्यटनमन्त्री खड्कराज पौडेल (गनेस)ले भिडियो सन्देश जारी गर्दै बाढीपहिरोले सम्पूर्ण नेपाल प्रभावित नभएको भन्दै विदेशी पाहुनालाई नेपाल भ्रमणमा आउन आग्रह गरेका छन् । उनका अनुसार, नेपालका विमानस्थल सञ्चालनमा छन् भने हिमाल, पदयात्रा मार्ग, होटल तथा रेस्टुरेन्ट पर्यटकको स्वागतका लागि तयार छन् ।
मन्त्री पौडेलले बाढीबाट प्रभावित क्षेत्र सीमित रहेको उल्लेख गर्दै अन्य पर्यटकीय गन्तव्यमा भ्रमण गर्न सकिने सन्देश दिएका छन् । पर्यटन व्यवसायीले पनि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट नेपाल भ्रमणका लागि विदेशी पर्यटकलाई आह्वान गर्न थालेका छन् ।
तर, नेपालले पर्यटकलाई स्वागत गरिरहेका बेला विभिन्न विदेशी मुलुकहरुले आफ्ना नागरिकका लागि जारी गरेका पछिल्ला ट्राभल एडभाइजरी भने तुलनात्मक रूपमा सतर्क देखिएका छन् । उनीहरूले नेपाललाई समग्र रूपमा यात्रा निषेध गरेका छैनन् । तर, बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित क्षेत्रलाई छुट्टै जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गर्दै आवश्यकताअनुसार यात्रा नगर्न वा यात्रा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
अमेरिका
अमेरिकी विदेश मन्त्रालयले ३० अगस्टमा नेपालको ट्राभल एडभाइजरी अद्यावधिक गर्दै नेपाललाई समग्रमा ‘लेभल २’ अर्थात् ‘सावधानी बढाएर यात्रा गर्नुपर्ने’ श्रेणीमा राखेको छ । तर रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेंसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकालाई ‘लेभल ४’ अर्थात् ‘डु नट ट्राभल’ श्रेणीमा राखिएको छ ।
बाढीका कारण यातायात तथा सञ्चार पूर्वाधारमा क्षति पुगेको, खोज तथा उद्धार र पुनःस्थापनाको काम जारी रहेको तथा थप बाढीपहिरोको जोखिम रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई उक्त क्षेत्रमा कुनै पनि कारणले नजान आग्रह गरेको छ । नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहनसमेत चेतावनी दिइएको छ ।
बेलायत र न्युजिल्यान्ड
बेलायतले २६ अगस्टको बाढीपछि रसुवा तथा नेपाल–चीन सीमा क्षेत्रमा सडक, भवन, यातायात र सञ्चार पूर्वाधारमा व्यापक क्षति पुगेको जनाएको छ । गोरखा, नुवाकोट र धादिङलगायत क्षेत्रमा समेत असर परेको उल्लेख गर्दै थप बाढी आउन सक्ने जोखिमप्रति सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
यसैगरी, न्युजिल्यान्डले नेपाल–तिब्बत सीमा क्षेत्रका लागि ‘डु नट ट्राभल’ चेतावनी जारी गरेको छ । प्रभावित क्षेत्रमा नजान, नदी किनार र होचा भूभागबाट टाढा रहन तथा क्षतिग्रस्त सडकमार्गमा यात्रा नगर्न उसले आफ्ना नागरिकलाई सुझाएको छ ।
अस्ट्रेलिया र क्यानडा
अस्ट्रेलियाले नेपालमा समग्रमा उच्च सतर्कता अपनाउन सुझाव दिँदै भोटेकोशी र त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, नवलपुर र गोरखाका बाढी प्रभावित क्षेत्रमा यात्रा गर्ने आवश्यकतालाई पुनर्विचार गर्न आग्रह गरेको छ ।
सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको र थप बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेको भन्दै अस्ट्रेलियाले यात्रुहरूलाई एयरलाइन्स, टुर अपरेटर वा ट्राभल एजेन्सीसँग यात्राको अवस्थाबारे यकिन गर्नसमेत सुझाएको छ ।
यसैगरी, क्यानडाले पनि नेपाललाई समग्रमा उच्च सतर्कताको श्रेणीमा राखेको छ । तर बाढीपहिरोबाट गम्भीर क्षति भएका रसुवा र नुवाकोटमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा यातायात, विद्युत्, पानी तथा खाद्यान्न आपूर्ति, दूरसञ्चार, आकस्मिक र स्वास्थ्य सेवासमेत प्रभावित भएको क्यानडाको सूचनामा उल्लेख छ ।
नेपालको सुरक्षित गन्तव्यबारे स्पष्टता आवश्यक
नेपालको पर्यटन पुनरुत्थानका लागि विदेशी पर्यटकलाई आकर्षित गर्नु आवश्यक भए पनि विपत्तिपछिको अवस्थामा सकारात्मक प्रचारसँगै जोखिमबारे स्पष्ट सूचना दिनुपर्ने देखिएको छ ।
नेपाल पर्यटन बोर्डको ‘नेपाल खुला छ’ भन्ने सन्देश समग्र पर्यटन गतिविधि सञ्चालनमा रहेको विषयमा केन्द्रित छ । तर विदेशी सरकारहरूको दृष्टिकोण भने क्षेत्रगत जोखिममा केन्द्रित छ । उनीहरूले नेपाललाई सम्पूर्ण रूपमा असुरक्षित भनेका छैनन्। बरु बाढीपहिरो प्रभावित क्षेत्रमा सडक, पुल, सञ्चार, उद्धार तथा स्वास्थ्य सेवाको अवस्था कमजोर भएकाले यात्रा जोखिमपूर्ण हुन सक्ने बताएका छन् ।
त्यसैले, अहिलेको आवश्यकता ‘नेपाल घुम्न आउनुस्’ भन्ने सामान्य आग्रहभन्दा पनि नेपालका सुरक्षित गन्तव्यहरुबारे अझ स्पष्ट सन्देश दिनुपर्दछ । कुन पर्यटकीय गन्तव्य सामान्य अवस्थामा छन्, कुन सडक तथा पदमार्ग सञ्चालनमा छन् र कुन क्षेत्रबाट तत्काल टाढा रहनुपर्छ भन्ने विश्वसनीय र नियमित सूचना उपलब्ध गराउन सके मात्रै नेपालको पर्यटन पुनरुत्थानको सन्देश प्रभावकारी बन्न सक्ने देखिन्छ ।


