रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपाललाई करिब ७ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वयसम्बन्धी निकाय (ओसिएचए)ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी प्रभावित छ जिल्लामा आगामी चार महिनासम्म आपत्कालीन राहत तथा आधारभूत मानवीय सहायता व्यवस्थापन गर्न ४ करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको हो । आवश्यक सहयोग जुटाउन राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिलसमेत गरेको छ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपहिरोबाट ८४ हजार २७० जना प्रभावित भएको प्रारम्भिक अनुमान छ। रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत छ जिल्लाका १७ स्थानीय तहका १९ हजार २८४ परिवार प्रभावित भएको ओसिएचएले जनाएको छ ।
बाढीका कारण घर, सडक, बजार, जलविद्युत् आयोजना, खानेपानी तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेको छ । तर, ओसिएचएको प्रारम्भिक आकलनमा भौतिक संरचनाको पुनर्निर्माणमा लाग्ने खर्च समावेश गरिएको छैन । विस्तृत क्षतिको मूल्यांकन र पुनर्निर्माण लागत यकिन गर्न थप अध्ययन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
तत्काल आवश्यक मानवीय सहयोगमा स्वास्थ्य सेवा, अस्थायी आवास, स्वच्छ खानेपानी, पोषण, सरसफाइ तथा सुरक्षा प्रमुख छन् । बाढीका कारण खानेपानीका ५० वटा प्रणाली आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । करिब १० हजार परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीले कृषि क्षेत्रमा समेत गम्भीर असर पारेको छ । प्रारम्भिक रिमोट सेन्सिङ विश्लेषणअनुसार करिब १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धान खेती र १३७ हेक्टर तरकारी खेती हुने क्षेत्र रहेको छ । यसबाट करिब ७ हजार ६८६ मेट्रिक टन कृषि उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ ।
त्यस्तै, बाढीमा ४ हजार ७५० भन्दा बढी पशु तथा ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको छ ।
बाढीपहिरोले वेत्रावती–रसुवागढी सडकखण्डको करिब ४२ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको छ । विभिन्न स्थानमा करिब २२ लाख मेट्रिकटन गेग्य्रान थुप्रिएको प्रारम्भिक अनुमान छ । प्रतिवेदनले अहिलेको प्राथमिकता भौतिक संरचना पुनर्निर्माणभन्दा प्रभावित नागरिकको जीवनरक्षा र तत्कालीन मानवीय आवश्यकता पूरा गर्नु रहेको जनाएको छ ।


