Banijya News

संकटमा वैकल्पिक प्रवेशद्वार बन्दै कोरला, चीनमा रोकिएका नेपालीका लागि खुल्यो नयाँ मार्ग

1
1.0K Shares

रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केही दिनमै चीनले तातोपानी नाकासमेत बन्द गरेको छ । यसपछि चीनमा रोकिएका नेपाली नागरिक तथा सवारीसाधनलाई मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ । रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला नेपाल–चीन आवागमनका लागि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आएको हो ।

केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर नेपाली नागरिक तथा सवारीसाधनलाई कोरला ल्याई नेपाल प्रवेश गराउने व्यवस्था मिलाइएको सम्बन्धित निकायले जनाएको छ । यस क्रममा नेपाल र चीनका अधिकारीहरूले आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन् ।

अचानक विकसित भएको यो परिस्थितिले तत्काल चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने बाटो सहज बनाएको छ । साथै, वर्षौंदेखि पूर्वाधार र नियमित सञ्चालनको पर्खाइमा रहेको कोरला नाकाको रणनीतिक महत्त्वसमेत उजागर भएको छ । जानकारहरूका अनुसार यो मार्ग भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनका लागि महत्वपूर्ण विकल्प बन्न सक्ने देखिएको छ ।

कोरला नाका भने नयाँ मार्ग होइन । इतिहासकारहरूका अनुसार, राणाकालदेखि प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीच हुने व्यापारका लागि यो क्षेत्र प्रमुख मार्गका रूपमा प्रयोग हुन्थ्यो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा स्थापित थियो ।

तिब्बती व्यापारीहरू नुन, ऊन तथा पशुचौपाया लिएर टुकुचेसम्म आउने गर्थे । नेपालबाट भने जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो । नुन र अन्नमा आधारित यही व्यापारले मुस्ताङको आर्थिक तथा सामाजिक जीवनलाई लामो समयसम्म चलायमान बनाएको थियो ।

तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै परम्परागत व्यापार प्रणाली कमजोर हुँदै गयो । सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि पुराना व्यापारिक गतिविधिमा पनि ठूलो परिवर्तन आयो । अझ २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको छ । यसरी, बदलिँदो राजनीतिक तथा सुरक्षा अवस्थाले पुरानो व्यापारिक संरचनालाई थप प्रभावित गर्‍यो ।

व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम तथा तराईका बजारमा व्यापार विस्तार गर्न थाले। कतिपयले सडकछेउमा खरका भट्टी सञ्चालन गरे, जुन पछि थकाली भान्साघर, होटल, लज हुँदै आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए ।

सडक पहुँचसँगै बढ्यो कोरला नाकाको सम्भावना

पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास हुँदै आए पनि पूर्वाधार अभाव तथा राजनीतिक उतारचढावका कारण अपेक्षित गति लिन सकेन । २०६२–६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थालेपछि नाकाको सम्भावना पुनः चर्चामा आयो ।

२०७२ सालको भूकम्प र त्यसपछि दक्षिणी नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो । त्यसयता सरकारले कोरला नाकासम्म सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ । सडक सुधार तथा पूर्वाधार निर्माणका काम अझै विभिन्न चरणमा जारी छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार, गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्सेसम्म भ्रमण गरेका थिए । उनका अनुसार, कोरला हुँदै आवागमन विस्तार गर्न सके माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छ ।

नेपालका उत्तरी सीमामा चीनसँग जोडिने तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आफ्नै ऐतिहासिक महत्त्व छ । तर पछिल्लो समय रसुवागढीमा बाढी–पहिरो र तातोपानीमा आवागमन अवरोध भएपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक सम्भावनालाई थप स्पष्ट पारेको छ ।

तत्कालीन संकटमा उद्धार र आवागमनको विकल्प बनेको कोरला अब भविष्यमा नियमित व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको भरपर्दो मार्ग बन्न सक्छ कि सक्दैन भन्ने विषय भने सडक, भन्सार, सुरक्षा तथा अन्य आवश्यक पूर्वाधारको विस्तारमा निर्भर हुनेछ ।

1

Scroll to Top