Banijya News

रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत

1
1.0K Shares

नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेको लाङटाङ रेन्जमा भएको हिमनदी विस्फोटपछि आएको अकस्मात् लेदोसहितको शक्तिशाली बाढीले ठूलो मानवीय क्षति पुर्‍याएसँगै बीमा कम्पनीहरूमा पनि मृत्यु तथा सम्पत्ति क्षतिको दाबी बढ्ने देखिएको छ ।

बाढीमा नेपालतर्फ १ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । बेपत्ता तथा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीमा बगेका केही शव सीमापारि भारतसम्म पुगेको हुन सक्ने आशंका रहेकाले पहिचान तथा परिवारलाई जानकारी गराउने प्रक्रिया थप जटिल बनेको छ ।

बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए र देवीघाटलगायत करिब दर्जन जलविद्युत् आयोजना प्रभावित भएका छन् । आयोजना क्षेत्रका सुरुङ तथा आसपासमा कार्यरत थुप्रै कामदार र कर्मचारी सम्पर्कविहीन छन् ।

जलविद्युत् आयोजना, उद्योग, कलकारखाना तथा व्यावसायिक संस्थामा कार्यरत कर्मचारीको मृत्यु भएको अवस्थामा सम्बन्धित निर्जीवन बीमा कम्पनीले ‘कन्ट्रयाक्टर अल रिस्क’लगायतका बीमा योजनाअन्तर्गत दाबी भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, जीवन बीमा गरेका व्यक्तिको मृत्यु पुष्टि भएपछि जीवन बीमा कम्पनीले बीमालेखअनुसार दाबी भुक्तानी गर्नुपर्नेछ ।

बीमा कम्पनीहरूका अनुसार, रसुवा, नुवाकोट र धादिङ जीवन बीमाका लागि महत्वपूर्ण बजार हुन् । यी जिल्लाका बासिन्दामध्ये वैदेशिक रोजगारी, व्यापार–व्यवसाय तथा आयात–निर्यातमा संलग्नको संख्या उल्लेख्य रहेकाले बीमा गर्ने क्षमता पनि तुलनात्मक रूपमा राम्रो छ ।

बीमकहरूका अनुसार, प्रभावित क्षेत्रका जिल्लामा २ लाखदेखि २ करोड रुपैयाँसम्म बीमांक भएका बीमित छन् । कतिपयको स्थायी ठेगाना प्रभावित जिल्लामा भए पनि काठमाडौं उपत्यकाका बालाजु, मनमैजु, थानकोट र सितापाइलालगायत क्षेत्रमा बसोबास रहेको छ ।

यद्यपि, शव फेला नपरेका तथा पहिचान हुन नसकेका व्यक्तिको मृत्यु पुष्टि हुन समय लाग्ने भएकाले तत्कालै जीवन बीमा दाबीको वास्तविक आकार निर्धारण गर्न कठिन हुने देखिएको छ ।

1

Scroll to Top