Banijya News

भोटेकोशी बाढीमा मृत्यु र बेपत्ताको संख्या भयावह, १ हजार ३४१ शव फेला, चार हजारबढी बेपत्ता

1
1.0K Shares

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको विवरण झन् भयावह बन्दै गएको छ । नेपाल प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये ३२५ जना महिला र ५२३ जना पुरुष छन् । बाँकी ४९३ शव भने पहिचान गर्न नसकिने अवस्थामा फेला परेका छन् । ठूलो संख्यामा शव पहिचान हुन बाँकी रहेपछि मृतकको सनाखतका लागि डीएनए परीक्षणलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ८६३ नेपाली पुरुष र ५७५ नेपाली महिला छन् । त्यस्तै, विदेशी नागरिकमध्ये २६९ पुरुष र ३३२ महिला सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । अन्य शीर्षकमा पाँच जनाको विवरण राखिएको छ ।

फेला परेका शवमध्ये हालसम्म १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक १ हजार २८६ जना तथा उनीहरूका आफन्त १ हजार १८६ जनासहित कुल २ हजार ४७२ जनाको डीएनए नमुना संकलन गरिएको छ । संकलित नमुनाको परीक्षणमार्फत पहिचान हुन बाँकी शवको सनाखत गर्ने तथा बेपत्ता व्यक्तिको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित विभिन्न सरकारी निकाय र उद्धार टोली खोजी, उद्धार, शव व्यवस्थापन तथा राहत कार्यमा निरन्तर परिचालित छन् । बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ ।

बाढी आएको दिन बित्दै गए पनि हजारौँ नागरिक सम्पर्कविहीन रहनुले विपत्तिको वास्तविक मानवीय क्षति अझै पूर्ण रूपमा खुल्न सकेको छैन । पहिचानविहीन शवको सनाखत र बेपत्ता नागरिकको खोजी प्रभावित परिवार तथा राज्यका लागि अझै ठूलो चुनौती बनेको छ ।

1

Scroll to Top