Banijya News

बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

1
1.0K Shares

नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ प्रणालीमा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप खाता संख्या ६ करोड ३४ लाख २५ हजार २ सय ९६ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो खाता संख्या ५ करोड ९४ लाख २९ हजार ३ सय ६७ रहेको थियो ।

यसअनुसार एक वर्षमा निक्षेप खाताको संख्या ४९ लाख ९६ हजार ९ सय २९ ले थपिएको छ । प्रतिशतका आधारमा निक्षेप खाताको संख्या ८ दशमलव ५५ प्रतिशतले बढेको हो ।

बैंकिङ प्रणालीमा रहेका निक्षेप खातामध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूको रहेको छ । आव २०८२/०८३ मा वाणिज्य बैंकहरूमा मात्रै ५ करोड ४४ लाख ४९ हजार ५ सय ३९ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् ।

त्यस्तै, विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६ सय ७२ र फाइनान्स कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा निक्षेप खाता सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा ५ करोड ९ लाख ८६ हजार १ सय ७१ वटा निक्षेप खाता थिए । विकास बैंकहरूमा ७४ लाख ५३ हजार ३ सय ४७ तथा फाइनान्स कम्पनीहरूमा ९ लाख ६७ हजार ८ सय ४९ वटा खाता सञ्चालनमा थिए । यसरी हेर्दा एक वर्षको अवधिमा तीनवटै समूहका बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या बढेको देखिन्छ ।

निक्षेप खातासँगै बैंकिङ प्रणालीबाट कर्जा लिने ग्राहकको आधारसमेत विस्तार भएको छ । राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या २० लाख ३१ हजार ६ सय ३४ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा खाता संख्या १९ लाख ५५ हजार ५ सय ५८ रहेको थियो ।

एक वर्षमा कर्जा खाताको संख्या ७६ हजार ७६ ले वृद्धि भएको हो । निक्षेप खाताको तुलनामा कर्जा खाताको विस्तार भने केही सीमित देखिन्छ । यद्यपि बैंकिङ प्रणालीबाट कर्जा उपयोग गर्ने ग्राहकको संख्या क्रमशः बढिरहेको तथ्यांकले देखाएको छ ।

कर्जा खातातर्फ पनि वाणिज्य बैंकहरू नै अगाडि छन् । समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा १७ लाख ९ सय ३४ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् । विकास बैंकहरूमा २ लाख ६१ हजार ४ सय ४७ र फाइनान्स कम्पनीहरूमा ६८ हजार ९ सय ८३ वटा कर्जा खाता रहेका छन् ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा १६ लाख ४४ हजार ५ सय ४५ वटा कर्जा खाता थिए । विकास बैंकमा २ लाख ७१ हजार २७ र फाइनान्स कम्पनीमा ५० हजार ९ सय ८५ वटा कर्जा खाता सञ्चालनमा थिए ।

यस आधारमा वाणिज्य बैंक र फाइनान्स कम्पनीमा कर्जा खाताको संख्या बढेको छ भने विकास बैंकमा अघिल्लो वर्षको तुलनामा ९ हजार ५ सय ८० वटा कर्जा खाता घटेको देखिन्छ । समग्रमा भने निक्षेप तथा कर्जा दुवै खाताको वृद्धिले बैंकिङ सेवामा पहुँच विस्तार हुँदै गएको संकेत गरेको छ ।

1

Scroll to Top