Banijya News

माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका लागि राहत प्याकेज ल्याइने

1
1.0K Shares

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि राहत प्याकेज घोषणा गर्ने भएका छन् ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी सहित इन्जिनियरिङ, खरिद तथा निर्माण ठेकेदार दुसान इनरबिलिटी र दुई सब–कन्ट्रयाक्टरहरू (पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एनडीएच हाइड्रो) ले आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी राहत प्याकेजको तयारी गरिरहेका हुन् ।

गत भदौ १० गते आएको आकस्मिक बाढीबाट भएको विपद्लगत्तै खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिँदै सुरक्षा निकायसँग निरन्तर समन्वय र आवश्यक सहयोग गर्नुपरेकाले राहत प्याकेज घोषणामा केही ढिलाइ भएको कम्पनीहरूले स्पष्ट पारेका छन् ।

बाढी आउने समयमा आयोजनाका विभिन्न स्थलहरूमा इन्जिनियरिङ, खरिद तथा निर्माण क्षेत्रका गरी कुल १ हजार ४ सय ३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए । तीमध्ये शनिबारसम्म ८ सय ७६ जनाको सकुशल उद्धार भइसकेको छ भने ५ सय ५७ जना अझै सम्पर्कविहीन रहेका छन् ।

भदौ २० गते शनिबार आयोजना स्थलमध्ये एक ठाउँबाट एक जना चिनियाँ कामदारको उद्धार गरिएपछि भग्नावशेषमा अझै फसिरहेका हुन सक्ने सम्भावित व्यक्तिहरूको उद्धारका लागि सुरक्षा निकायसँगको सहकार्यलाई थप सुदृढ बनाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले बाढी आउँदा कार्यरत व्यक्तिहरूको सूची तयार पारिरहेको र कामदार तथा कर्मचारीहरूको अवस्थाबारे आधिकारिक तथा यकिन जानकारी प्राप्त भएलगत्तै उनीहरूका परिवारलाई सूचित गराइने जनाएको छ ।

1

Scroll to Top