Banijya News

बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

1
1.1K Shares

गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । प्राकृतिक विपत्तिपछि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले आफ्नो यात्रा योजना रद्द गर्न थालेका छन् भने मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै होटल बुकिङमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

भोटेकोशी बाढीको प्रभावका कारण पाँचतारे होटलमा आउने विदेशी पर्यटकको बुकिङ औसतमा २० देखि ३० प्रतिशतसम्म रद्द भएको पाँचतारे चेन होटल म्यारिओटका सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकले सामान्यतया अग्रिम रूपमा होटल बुकिङ गर्ने भएकाले प्राकृतिक विपत्ति, सडक अवरोध वा सुरक्षासम्बन्धी समस्या देखिएलगत्तै बुकिङ रद्द गर्ने गरेका छन् ।

‘भोटेकोशी बाढीपछि पर्यटकले होटल बुकिङ रद्द गर्न थालेका छन्,’ अग्रवालले भने, ‘नेपाल आउनुअघि होटल बुकिङ गर्ने र केही समस्या देखिए तत्काल रद्द गर्ने प्रवृत्ति हुन्छ । यसले आउने निश्चित भएका पर्यटक मात्र होइन, नेपाल भ्रमण गर्ने योजनामा रहेका अन्य पर्यटकलाई समेत प्रभावित गर्छ ।’

पर्यटनको मुख्य सिजन सुरु हुनुअघि नै बुकिङ रद्द हुन थालेपछि होटल व्यवसायसँगै समग्र पर्यटन उद्योगमा यसको असर गहिरो पर्ने व्यवसायीहरूको आकलन छ । नेपाल पर्यटन बोर्डका एक सदस्यका अनुसार आगामी पर्यटकीय सिजनमा करिब ३० प्रतिशतसम्म बुकिङ रद्द हुन सक्ने अनुमान गरिएको छ । यसबाट पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँसम्मको क्षति पुग्न सक्ने प्रारम्भिक आकलन गरिएको उनले बताए ।

उनका अनुसार, प्राकृतिक विपत्तिपछि अन्तर्राष्ट्रिय बजारमा नेपालबारे नकारात्मक सन्देश फैलिन नदिन तत्काल सकारात्मक प्रचारप्रसार आवश्यक छ । बोर्डले आगामी पर्यटकीय सिजनलाई लक्षित गर्दै प्रवद्र्धनात्मक कार्यक्रमसँगै विभिन्न व्यावसायिक प्याकेजको तयारीसमेत गरिरहेको छ । यद्यपि, बाढी र पहिरोबाट पर्यटन क्षेत्रमा भएको वास्तविक क्षतिको विस्तृत अध्ययन भने अझै पूरा भइसकेको छैन ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका २०७ भन्दा बढी होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन् । होटल व्यवसायी महासंघ नेपालले संकलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै १०० भन्दा बढी होटल तथा रेस्टुरेन्टमा क्षति पुगेको छ । त्यस्तै, नुवाकोटमा ५५, धादिङमा ४० र गोरखामा १२ वटा होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन् ।

महासंघका अनुसार, नुवाकोटका तीन र धादिङका पाँच होटलमा आंशिक क्षति पुगेको छ भने बाँकी १९९ होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती होटलमा मात्रै करिब २ हजार १७० कोठा क्षमताको पर्यटकीय पूर्वाधार रहेको महासंघको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

महासंघका अध्यक्ष शंकर भण्डारीले संकलन गरिएको तथ्यांक प्रारम्भिक भएकाले क्षतिको वास्तविक विवरण अझै बढ्न सक्ने बताए । उनका अनुसार, सरकारी निकायलाई जानकारी गराउने उद्देश्यले विभिन्न माध्यमबाट विवरण संकलन भइरहेको छ ।

भण्डारीका अनुसार, बाढीले चार जिल्लाका करिब २०० होटलमा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको पर्यटन सेवाको सञ्जाल नै प्रभावित भएको छ । होटल तथा रेस्टुरेन्टमा कार्यरत सयौँ मानिससमेत बेपत्ता भएकाले मानवीय क्षतिसँगै ठूलो आर्थिक क्षति भएको उनको भनाइ छ । लामो समय लगाएर निर्माण गरिएका पर्यटन पूर्वाधार नष्ट हुँदा यसको असर तत्काल मात्र नभई दीर्घकालसम्म रहने उनले बताए ।

बाढी र पहिरोका कारण सडक सञ्जालमा परेको असरले काठमाडौं बाहिरका प्रमुख पर्यटकीय गन्तव्यमा समेत पर्यटकको चहलपहल घटेको छ । चितवनको सौराहा, पोखरा लगायतका क्षेत्रमा अपेक्षित पर्यटक देखिएका छैनन्। सडक सम्पर्क कमजोर हुँदा पर्यटकले यात्रा योजना परिवर्तन वा रद्द गर्ने क्रम बढेको व्यवसायीहरूको भनाइ छ ।

पर्यटकको बुकिङ रद्द हुन थालेको प्रभाव हवाई यात्रामा समेत पर्ने संकेत देखिएको छ । यद्यपि, अहिले सडकमार्ग अवरुद्ध भएकाले बाध्यताका कारण हवाई यात्रुको चाप बढेको विमान कम्पनीहरूले बताएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सडकमार्ग सञ्चालनमा आएपछि पर्यटकको वास्तविक चाप घटेको स्पष्ट देखिन सक्छ । विदेशी पर्यटकले आगामी सिजनका लागि गरेको बुकिङ रद्द गरिरहेको जानकारी आइरहेको भन्दै यसको वास्तविक प्रभाव आगामी महिनादेखि देखिने उनले बताए ।

बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले पनि पर्यटकीय सिजन आगामी महिनाबाट सुरु हुने भएकाले अहिले नै विदेशी पर्यटकका कारण हवाई यात्रु घटेको अवस्था नदेखिएको बताए । सडकमार्ग अवरुद्ध हुँदा ती क्षेत्रतर्फ जाने यात्रु हवाई यातायातमा निर्भर भएकाले अहिले उडानमा चाप देखिएको उनको भनाइ छ ।

प्राकृतिक विपत्तिपछि नेपालको पर्यटन क्षेत्रमा देखिएको यो चुनौतीबीच अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सुरक्षित र सञ्चालनयोग्य रहेको सकारात्मक सन्देश पुर्‍याउनु अहिलेको मुख्य आवश्यकता बनेको छ । सडक तथा पर्यटकीय पूर्वाधार पुनःस्थापना, प्रभावित व्यवसायीलाई राहत र अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्न नसके आगामी चार महिनाको मुख्य पर्यटकीय सिजनमै ठूलो क्षति बेहोर्नुपर्ने जोखिम देखिएको छ ।

1

Scroll to Top