Banijya News

सुनचाँदी धितो कर्जामा सरकारी बैंकको दबदबा, वाणिज्य बैंकहरूद्वारा एक खर्ब १६ अर्बभन्दा बढी लगानी

1
1.1K Shares

नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीलाई धितो राखेर प्रवाह गर्ने कर्जा एक खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले सुन तथा चाँदी सुरक्षणमा कुल १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सुनचाँदी धितोमा कर्जा प्रवाह गर्ने मामिलामा सरकारी स्वामित्वका बैंकहरू निजी क्षेत्रका बैंकभन्दा निकै अगाडि देखिएका छन् । कुल सुन तथा चाँदी धितो कर्जामध्ये नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले मात्रै ८२.४६ प्रतिशत हिस्सा ओगटेका छन् । यी दुई बैंकले संयुक्त रूपमा ९५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी कर्जा सुन तथा चाँदी धितोमा प्रवाह गरेका छन् ।

सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक नेपाल बैंक बनेको छ । नेपाल बैंकले असार मसान्तसम्म सुन तथा चाँदी सुरक्षणमा ५४ अर्ब ४० करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको कुल २ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ कर्जाको २०.७८ प्रतिशत हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सुन तथा चाँदी धितोमा ४१ अर्ब ५० करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको कुल कर्जा प्रवाहको ११.९७ प्रतिशत हो ।

निजी क्षेत्रका वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सियल बैंक सुन तथा चाँदी धितो कर्जामा अगाडि रहेको छ । बैंकले यस शीर्षकमा १० अर्ब ६९ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन उसको कुल कर्जाको ४.३७ प्रतिशत हो ।

त्यसपछि नबिल बैंकले ३ अर्ब ७६ करोड १९ लाख, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब २५ करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ सुन तथा चाँदी सुरक्षणमा कर्जा दिएका छन् ।

यसैगरी, सिटिजन्स बैंकले ८४ करोड ६३ लाख, एनआईसी एशिया बैंकले ३४ करोड ७३ लाख, माछापुच्छ्रे बैंकले २४ करोड ७९ लाख र एभरेस्ट बैंकले ३ करोड ५२ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका छन् ।

अन्य बैंकको सुनचाँदी धितो कर्जा भने निकै न्यून देखिएको छ । कुमारी बैंकले ४३ लाख ३२ हजार, प्रभु बैंकले ३९ लाख ८८ हजार, कृषि विकास बैंकले १६ लाख ६० हजार र एनएमबि बैंकले १ लाख ९१ हजार रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह गरेका छन् ।

यसैबीच, ६ वटा वाणिज्य बैंकले असार मसान्तसम्म सुन तथा चाँदी धितोमा कुनै पनि कर्जा प्रवाह गरेका छैनन् । नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकको यस शीर्षकमा लगानी शून्य रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

तथ्यांकले परम्परागत रूपमा सुनचाँदीलाई सुरक्षित धितोका रूपमा प्रयोग गर्दै आएका सरकारी स्वामित्वका बैंकहरूमा यस्तो कर्जाको एकाग्रता उच्च रहेको देखाएको छ । निजी बैंकहरूमा भने सुनचाँदी धितो कर्जा बैंकअनुसार निकै फरक रहेको देखिन्छ ।

1

Scroll to Top