Banijya News

डिम्याट खाता ८० लाख पुग्यो तर सक्रिय लगानीकर्ता १७ लाख मात्रै !

1
1.0K Shares

नेपालमा डिम्याट खाता खोल्नेको संख्या करिब ८० लाख पुगे पनि पुँजीबजारमा सक्रिय लगानीकर्ताको संख्या भने करिब १७ लाख मात्रै रहेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक रुपेश केसीका अनुसार, करिब ३३ लाख डिम्याट खातामा कुनै पनि मौज्दात छैन । लगानीकर्ताको सक्रियता उनीहरूको वित्तीय अवस्था र वित्तीय साक्षरताको स्तरअनुसार फरक हुने भएकाले निष्क्रिय लगानीकर्तालाई पुँजीबजारमा सक्रिय बनाउने उपाय पहिचान गर्नुपर्ने उनले बताए ।

काठमाडौंमा आयोजित कार्यक्रममा केसीले लगानीकर्ता संरक्षणलाई धितोपत्र बजारका तीन प्रमुख आधारमध्ये एक भएको बताए । लगानीकर्ताको वित्तीय अवस्था तथा वित्तीय साक्षरताको स्तर पहिचान गर्न सेबोनले प्रश्नावलीमार्फत सर्वेक्षण तथा अनुसन्धान गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार, लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धिका लागि राष्ट्रियस्तरको रणनीति आवश्यक छ । यसका लागि सेबोनले वित्तीय साक्षरतासम्बन्धी प्रारूपसमेत तयार गरिसकेको छ ।

केसीले लगानीकर्ता संरक्षण कोषमा हाल १ अर्ब २३ करोड रुपैयाँ जम्मा भएको जानकारी दिए । पाँच वर्षसम्म लगानीकर्ताले दाबी नगरेको लाभांश रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले कोषलाई सेबोनमार्फत सञ्चालन गर्न सके अझ प्रभावकारी बनाउन सकिने धारणा राखे ।

1

Scroll to Top